अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङबीच सोमबार बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशबीच रहिआएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा विश्लेषण गरिएको जनाइएको छ । केहीहप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्यास्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापानलगायत राष्ट्रहरूमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिले उक्त वार्तामा यसैलाई मुख्य विषयवस्तु बनाएको पनि ज्ञात भएको छ । चीनले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प प्रस्तावको सम्मान र कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रपति जिनपिङले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पारेका छन् ।
कुनै पनि राष्ट्रले सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन वा अनादर गरेमा चीन त्यसको कडा विरोधमा उभिने पनि उनले बताए । साथै, कोरियाली प्रायद्वीपमा शान्ति स्थापनार्थ चीन जस्तो सुकै सहयोग गर्न तत्पर रहेको पनि राष्ट्रपति जिनपिङले बताए ।
त्यस्तै, उत्तर कोरियाको वर्तमान आणविक हातहतियार भण्डारण नष्ट गर्ने तथा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने सम्बन्धमा दुबै राष्ट्र मिलेर सहज र शान्तिपूर्ण मार्ग अवलम्बन गर्नुपर्ने पनि राष्ट्रपति जिनपिङले बताएका छन् । दुबै देशको साझा समस्या निराकरण गर्ने दिशामा सहकार्य गर्न चीन अग्रसर रहने र निर्वाह गर्नुपर्ने भूमिका चीनले समयमै पूरा गर्न कुनै कसर बाँकी नराख्ने पनि राष्ट्रपति जिनपिङले बताएका छन् ।

प्रतिक्रिया