ठेकेदारले काम रोक्दा सडक अलपत्र

विराटनगर । विराटनगर उपमहानगरपालिकामा विगत २ वर्षदेखि नाला र ढल निर्माणको काम गर्दै आएको कालिका कन्स्ट्रक्सनले अकस्मात काम बन्द गरेको छ । मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाको विराटनगरस्थित कार्यालयले भुक्तानी नगरेको भन्दै ठेकेदार कालिका कन्स्ट्रक्सनले काम बन्द गरेको हो । कालिका भूमीसुधारमन्त्री विक्रम पाण्डेको कन्स्ट्रक्सन कम्पनी हो । विराटनगर परियोजना प्रमुख उपेन्द्र बरालका अनुसार कालिका कन्ट्रक्सनलाई भुक्तानी गर्नुपर्ने ७५ करोड रुपैयाँ काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सिफारिससहित पठाएको एक महिना भइसकेको छ । तर, परियोजनाले आवश्यक रकम निकासा नगरेको हुँदा भुक्तानी गर्न नसकिएको हो । कूल २ अर्ब ९५ करोडको लागतमा विराटनगरमा नाला र ढल निर्माणको काम भइरहेको छ । एसियाली विकास बैंकको लगानी र विराटनगर उपमहानगरपालिकाले ८ प्रतिशत रकम बेहोरेको छ ।
प्रमुख बरालले परियोजनाअन्तर्गत ७७ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार बर्खे पानीको ढल ३३ किलोमिटर निर्माण गर्नुपर्नेमा ३१ किलोमिटर निर्माण भइसकेको छ । फोहर पानीको ढल साढे ४३ किलोमिटरमध्ये ३७ किलोमिटर र दुबैतर्फ बनाउनुपर्ने नाला ३६ किलोमिटरमा २६ किलोमिटर तयार भइसकेको छ ।
तर, साढे ४४ किलोमिटर पक्की सडक भत्काएर लथालिंग बनाइएकोमा १४ किलोमिटरलाई मात्र सम्याएर ग्राभेल गरिएको छ । बाँकी साढे ३० किलोमिटर पक्की सडक भताभुंग अवस्थामा छ । प्रि–मनसुनका कारण झरी पर्न सुरु भइसकेका बेला ठेकेदार कम्पनीले काम बन्द गरेपछि विराटनगरका सडक अझ धेरै हिलाम्य र अस्तव्यस्त भएका छन् ।
सडकको दुर्दशासँगै विराटनगरको होटल र रेस्टुरेन्ट व्यवसायमा असर परेको छ । कालिका कन्स्ट्रक्सनका विराटनगरस्थित प्रतिनिधि उज्ज्वल प्रसाईंले भुक्तानी नपाएपछि गत आइतबारदेखि काम बन्द गरिएको सूचना परियोजनाको कार्यालयलाई दिएका थिए । परियोजनाका केन्द्रीय निर्देशक चक्रवर्ती कण्ठले तेस्रो चौमासिक अवधिमा बजेट निकासा गर्दा अघिल्लो निकासाको लेखापरीक्षण हुनुपर्नेमा नभएकाले निकासा हुन नसकेको बताए ।
विराटनगर, वीरगञ्ज र बुटवलमा एकै पकृतिको निर्माण भइरहेको जानकारी दिँदै निर्देशक कण्ठले तीन वटै उपमहानगरपालिकाको अडिटसहितको बिल प्राप्त नभएसम्म भुक्तानीका लागि बजेट निकासा नहुने जानकारी दिए । अडिटसहितको बिल प्राप्त हुन अझै एक हप्ता लाग्ने र त्यस अवधिभर बजेट निकासा हुन नसक्ने उनको भनाइ थियो । यो प्रकिया पूरा भएर विराटनगरमा काम सुरु हुन कम्तीमा अझै १० दिन लाग्ने देखिएको छ ।

प्रतिक्रिया