साउनको तेस्रो सातादेखि खानेपानी वितरण

काठमाडौं । मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रूपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् ।
उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वागमतीको पानीलाई परीक्षणको रूपमा प्लान्टमा ल्याई खानेपानीको रूपमा वितरण सुरु गरिने जानकारी दिए ।
त्यसरी पठाइएको वागमतीको पानी पूर्णरूपमा खानयोग्य हुने उनको भनाइ छ । उनले भने, ‘सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला तर केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ ।’
मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत आउने पानी सुचारु भएपछि वागमतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ । हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिच्छ्याउने काम सकिएको आयोजनाले जनाएको छ । श्रेष्ठले भने, चन्द्र शमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ ।पहिलो चरणमा असोजको दोस्रो हप्ताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत पहिलो चरणअन्तर्गत सुरुमा आठ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउनेछन् ।
परियोजनाअन्तर्गत तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा याङ्री र लार्के नदीको समेत पानी ल्याएर दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ ।
परियोजनाअन्तर्गत साढे तीन अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का लागि छुट्टाइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग (जाइका)को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ ।जाइकाले ४० वर्षका लागि शून्य दशमलव एक प्रतिशत ब्याजमा सो ऋण प्रदान गरेको जाइका नेपालका प्रतिनिधि नानाको तसुकाहाराले जानकारी दिए ।
हाल एनजिएस कन्सल्टेन्ट कम्पनी लिमिटेडले प्लान्टको काम गरिरहेको छ । ०७० पुसदेखि प्लान्टको कामको लागि सम्झौता भएको थियो ।
०७२ चैतभित्र प्लान्टको काम सक्ने लक्ष्य लिइएकोमा भूकम्प, भारतीय नाकाबन्दी, विभिन्न समयमा भएको आन्दोलन, स्थानीयको असहयोगजस्ता कारणले आयोजनाको काममा ढिलाइ भएको हो ।
प्लान्ट सम्पन्न भएपछि काठमाडौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गरी तीन महिनासम्म निर्माण कम्पनीले बोर्डका कर्मचारीलाई सञ्चालनसम्बन्धी तालिम दिइने छ । सुन्दरीजलमा पाँच सय रोपनी क्षेत्रफल प्लान्टको लागि जग्गा लिइएको छ ।मेलम्ची खानेपानी वितरण गर्न १० ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की निर्माण गरिँदै छ । आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्याङ्की निर्माण हुँदैछ ।

प्रतिक्रिया