६ मधेस केन्द्रित दलबीच एकता संसद्मा दलको संख्या घट्दै

6 party

काठमाडौं । राजनीतिक दलसम्बन्धी नयाँ ऐनमा थ्रेसओल्डको व्यवस्था गरेपछि संसद्मा रहेका साना दलबीच धमाधम एकता हुन थालेको छ । यसरी एकीकरण हुनेमा मधेसी र जनजातिकेन्द्रित दलहरू बढी छन् । पछिल्लोपटक बिहीबार मधेस केन्द्रित ६ दलबीच एकता भएर नयाँ पार्टी घोषणा भएको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर ‘राष्ट्रिय जनता पार्टी, नेपाल’ गठन भएको हो ।
यसअघि विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)सँग राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टी एकीकरण भइसकेका छन् । यी तीन दलबीच एकतापछि पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको छ ।
४ मंसिर ०७० मा संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्मा ३० वटा दल र दुई स्वतन्त्र सांसद निर्वाचित भएका थिए । तर, दुई पार्टीको संसदीय दल फुटेर ३२ दल भए पनि पछिल्लो समयको एकीकरणले संसद्मा दलको संख्या घटेर बिहीबारदेखि २३ मा झरेको छ ।
संविधानसभाको निर्वाचनपछि दुई सांसद रहेको दलित जनजाति पार्टी फुटेर बहुजन शक्ति पार्टी बन्दा दलको संख्या ३१ पुगेको थियो । संसद्मा १० सांसद रहेको मधेसी जनअधिकार फोरम नेपाल र पाँच सांसद रहेको नेपाल संघीय समाजवादीबीच एकता भएपछि दलको सख्या पुनः ३० झ¥यो । दुई पार्टीबीचको एकतासँगै संघीय समाजवादी फोरम संसदको पाँचौँ ठूलो दलमा उक्लिएको थियो ।
०७३ सालमा दलबीच फुट र एकताको क्रम तीव्र रह्यो । सोही वर्ष थरुहट तराई पार्टी नेपालबाट अलग भई गंगा चौधरी सत्गौवाले थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरिन् । त्यसपछि संसद्मा दलको संख्या ३१ पुगेको थियो ।
संसद्को राज्य व्यवस्था समितिमा राजनीतिक दलसम्बन्धी विधेयक छलफलमा आएपछि अधिकांश साना दलले थ्रेसओल्डसम्बन्धी व्यवस्थाको विरोध गरे । विरोधका बीच विधेयक पारित भएपछि दलहरूबीच एकीकरणको शृंखला सुरु भएको छ ।
अघिल्लो वर्ष नै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण भयो । दुई राप्रपाको एकीकरणपछि संसद्मा दलको संख्या घटेर ३० भएको थियो । २३ चैत ०७३ मा संसद्को छैटौँ ठूलो दलको रूपमा १४ सांसद्सहित खुम्चिएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सँग दुई सांसद रहेको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र एक सांसद भएको दलित जनजाति पार्टी एक भएको थियो ।
तीन पार्टीबीच एकतासँगै विजयकुमार गच्छदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम संसदको पाँचौँ ठूलो दलमा उक्लियो । यी तीन पार्टीको एकीकरणसँगै संसद्मा दलको संख्या २८ मा झ¥यो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ७ दलमध्ये ६ दलबीच बिहीबार एकीकरण भएपछि संसद्मा दलको संख्या घटेर २३ मा झ¥यो ।
सात मध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मात्र ६ दलको एकीकरणबाट बनेको राजपा नेपाल ‘राष्ट्रिय जनता पार्टी नेपाल’ (राजपा) मा सामेल भएनन् ।
थ्रेसओल्डको प्रभावका कारण बाँकी साना दलहरू अब कुन दलसँग एकीकरण गर्ने भन्ने चिन्तामा छन् । थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेकी गंगा चौधरी सत्गौवा भने डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरिसकेकी छन् । तर, उनी प्रवेश गरेको दलको संसद्मा प्रतिनिधित्व छैन । १७ सांसदसहित संसद्मा पाँचौँ ठूलो दलको हैसियत बनाएका विजयकुमार गच्छदारलाई नवगठित राजपाले पछि पारेको छ । राजपाका २५ सांसद छन् ।
गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले बिहीबार नै तीन बजे थरुहट तराई पार्टीसँग एकताको औपचारिक घोषणा गरेको छ । थरुहट तराई पार्टीमा गोपाल दहित मात्र सांसद छन् । दहितसहित गच्छदार नेतृत्वको दलमा सांसदको सख्या १८ पुग्दै छ । स्रोतका अनुसार गच्छदार नेतृत्वको पार्टीमा रामकुमार राई सांसद रहेको खम्बुवान राष्ट्रिय मोर्चा, हरिश्चरण शाह सांसद रहेको नेपाली जनता दल र रुक्मिणी चौधरी सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पनि मिल्दै छन् । यी तीन दल लोकतान्त्रिक फोरमसँग एकता भएपछि संसद्मा दलको संख्या घटेर २० मा आउने छ । यी दल एक भएपछि एक जना मात्र सांसद रहेको दलको संख्या पाँचमा झर्नेछ ।

प्रतिक्रिया