म मरे पनि चुनाव रोकिन्न ः प्रधानमन्त्री

काठमाडौं । एमालेले निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै स्थानीय चुनावका लागि पर्याप्त हुन नसक्ने उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेको छ । एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर गृहमन्त्री निधीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराए । साथै उनले दाहाललाई चुनाव नगराउन खोजेको हो भन्ने प्रश्न गरेका थिए । ‘प्रधानमन्त्रीले चुनाव हुन्छ । म मरे पनि चुनाव रोकिन्न भन्नुभएको छ’, कुराकानीबारे एमाले उपाध्यक्ष गौतमले भने । एमालेले घोषित मिति ३१ वैशाखमै देशभर एकै चरणमा स्थानीय तहको चुनाव गर्नुपर्ने जोड दिँदै आएको छ ।
कांग्रेस नेतासमेत रहेका गृहमन्त्री निधीले मध्यरातमा ट्विट गर्दै स्थानीय तहको चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै पर्याप्त नहुने, राजनीतिक व्यवस्थापन अपरिहार्य भएको बताएका छन् ।  एमाले सचिव योगेश भट्टराईले गृहमन्त्रीलाई ऐंठन हुँदैमा चुनाव नरोकिने बताए । उनले देशभरका सात सय ४४ स्थानीय तहमा एकैसाथ चुनाव हुने बताए ।

प्रतिक्रिया