क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाद्वारा निन्दा

सोल । उत्तर कोरियाले आइतबार गरेको असफल ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाले गरेको यस ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणबाट कोरियाली प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । दक्षिणी कोरियाली विदेशी मन्त्रीद्वारा प्रकाशित एक विज्ञप्तिमा उत्तर कोरियाले पुनः संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को नियमको उलंघन गरेको आरोप लगाएको छ ।
स्थानीय समयानुसार आइतबार बिहान ०६ः२० बजे उत्तर कोरियाको पूर्वी सहर सिन्पोबाट सो क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिणी कोरियाली सरकारी स्रोतले जानकारी दिएको छ । उत्तरी कोरियाले परीक्षण गरेको यस असफल व्यालिस्टिक क्षेप्यास्त्र झन्डै एक हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षमता रहेको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले बेला बेलामा यस्ता क्षेस्यास्त्र परीक्षण गर्दै आइरहेको छ ।
देशका संस्थापक नेता किम इल सुङको १०५औँ जन्मजयन्तीको अवसरमा प्योङयाङमा आइतबार भएको बृहत् सैन्य शक्ति प्रदर्शनपछि सो क्षेप्यास्त्र परीक्षण गरिएको थियो । अमेरिकाका उपराष्ट्रपति मिके पेन्स एसिया भ्रमणको क्रममा आइतबार अबेर राती दक्षिण कोरिया पुग्नुहुने भएको छ । उनले दक्षिण कोरियाको राष्ट्रपतिको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री ह्वाङ क्योहनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै उनले अन्य शीर्ष व्यक्तित्वलाई पनि भेट्ने भ्रमण तालिका रहेको अधिकारीहरुले बताएका छन्् । दक्षिण कोरियाली नेतासँग गर्न लागेको यस भेटवार्तामा बारम्बार हुने गरेको उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा पनि छलफल हुने सरकारी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया