विपन्नको सहारा बन्दै पोषण पुनःस्थापना गृह

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा सञ्चालनमा रहेको पोषण पुनःस्थापना गृह विपन्नको सहारा बनेको छ । बाल स्वास्थ्य महाशाखा र नेपाल युथ फाउन्डेसनको संयुक्त लगानीमा लुम्बिनी अञ्चल अस्पताल परिसरमा सञ्चालित गृहमा लुम्बिनी अञ्चलका विभिन्न् जिल्लाबाट आएका पोष्टिक आहार कम भएका बालबालिकाका लागि राम्रो साहार बनेको छ ।
तीन वर्षअघि स्थापना भएको पोषण पुनःस्थापना गृहमा पोषण कम भएका बच्चा तथा आमाहरूलाई पोषणगृहमा राखेर पोषकयुक्त खाना खुवाउने गरिन्छ । पोषण कम भएका बच्चाको तौल कम हुने र अन्य विकास पनि कम हुने भएकाले चिकित्सकले पोषण पुनःस्थापना गृहमा पठाउने गर्छन् ।
निम्न आर्थिकस्तर र कुपोषण भएका १४ वर्षमुनिका बालबालिकालाई पोषण केन्द्रमा भर्ना लिइन्छ । केन्द्रकी प्रमुख सुजता बोझाका अनुसार यहाँ बालबालिका ल्याउने आमालाई पोषणको विषयमा जानकारीसमेत गराउने गरिएको छ ।
पुनःस्थापना केन्द्रमा अहिले सातजना बालबालिकाले पोषकयुक्त खाना खाइरहेका छन् । बच्चासँगै आमालाई पनि गृहमा नै राखेर खाने बस्ने व्यवस्था गरिएको छ । १० जना बच्चा तथा आमालाई राख्न सक्ने क्षमता गृहको रहेको छ । तीन वर्षको अवधिमा दुई सय ५१ जना बालबालिकाले पोषण पूरा गरी घर फर्किएका बोझाको भनाइ छ । सामान्यतया १५ दिन मात्रै राख्ने नियम छ । तर, अत्यन्त कमजोर शारीरिक अवस्था भएकाहरू तीन÷चार महिनासम्म पनि बसेका छन् ।
६ महिनामुनिका बच्चालाई भर्ना नगर्ने भए पनि विपन्नताका कारण सुत्केरी महिला पनि पोषण केन्द्रमा बसेका छन् । घरमा आहार खुवाउन सक्ने आर्थिक अवस्था भएकाहरूलाई तालिम दिएर पठाउने गरिए पनि विपन्नलाई त्यही राख्ने गरिएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ का अभिनाश थारू २० महिना भए पनि तौल जम्मा पाँच किलो मात्र भएपछि अहिले गृहमा आएका छन् । सामान्यतः उनको तौल ११ किलोभन्दा माथि हुनुपर्ने थियो । अहिले पोषण कम भएका कारण वृद्धि नभएको परिवारले थाहापाएपछि पोषणगृहमा राखिएको हो । अर्घाखाँची चिदिका गाविसकी राधा कुमाल दुई महिनाअघि घरमै सुत्केरी भइन् । खेतीकिसानी गरेर मात्रै छाक टर्ने भएकाले गर्भवती हुँदा प्रशस्त पौष्टिक आहार पाइनन् । जसको कारण जन्मिएको तेस्रो सन्तान निकै कम तौलको र कमजोर भयो । जन्मिएको दुई महिनामा छोरीको तौल जम्मा साढे एक किलो मात्र भएपछि स्थानीय स्वास्थ चौकीको सल्लाहमा आर्धाखाँचीबाट लुम्बिनी अञ्चल अस्पतालको पोषणगृहमा आएर बसेकी छन् । छोरीको तौल बिस्तारै वृद्धि भइरहेको छ ।
प्रमुख ओझाका अनुसार पोषण कम भएर आउनेहरू पहाडी जिल्लाका विकट गाउँ तथा तराईका बालबालिका नै धेरै छन् । गैरसरकारी संस्थाले सुरुआत गरे पनि अहिले पोषण महाशाखामार्फत गृह सञ्चालन भइरहेको छ । ०७५ सालपछि लुम्बिनी अञ्चल अस्पताललाई नै हस्तान्तरण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया