निर्वाचनको आन्तरिक तयारीमा ठूला दल

धनुषा । आसन्न स्थानीय तह चुनावका लागि प्रमुख दल आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको चुनाव घोषणा भएको छ । तर अहिलेसम्म प्रदेश नं– २ मा चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत आन्तरिक तयारीमा जुटेका छन् । ती दलहरूमा जनकपुर उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखलगायत पदका लागि को को उम्मेदवार हुने चर्चा सुरु भएको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्रबाट उपमहानगरपालिकाको प्रमुख एवं उपप्रमुख पदका लागि धेरै आकांक्षी देखिएका छन् । कांग्रेसबाट नगर प्रमुख पदमा चन्दन कौशिक, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्याम साह, निर्मल चौधरी, पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, जीवनाथ चौधरी, श्रीराम साह, मनोज साहलगायत चर्चामा रहेको धनुषाका कांग्रेस सभापति रामसरोज यादवले बताए । त्यस्तै एमालेबाट पार्टीका जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, सञ्जीव झा, सांसद शीतल झा, प्रिती गुप्ता, राधारानी साह र जुली महासेठलगायत नाम नगर प्रमुखमा चर्चामा रहेको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।
यस्तै नगरप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबाबु झा, फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतो आकांक्षी देखिएका छन् । यी उम्मेदवारको नाम चर्चामा रहेपनि ती पार्टीले अहिलेसम्म कसैको नाम टुङ्गो लगाएको छैन ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलले प्रदेश नं– २ मा स्थानीय निर्वाचन हुने पक्का नहुन्जेलसम्म उम्मेदवार छनोटभन्दा बढी पार्टीलाई हरेक वडा र टोलमा सांगठनिक संरचना मुजबुत पार्दै संगठन निर्माण, निर्वाचन परिचालन समिति, बुथ कमिटी र स्थानीयस्तरबाटै उम्मेदवारसमेत छनोट गर्नका लागि उम्मेदवार चयन समितिजस्ता संरचना निर्माणमा व्यस्त रहेको बताए ।
२०१६ सालमा नगरपालिका भएको जनकपुर २०७१ साल मंसिर १६ गतेदेखि उपमहानगरपालिकामा रूपान्तरण भएको छ । उपमहानगरपालिकामा रूपान्तरण भएपछि धनुषाका कुर्था, बसबिटिटी, बिन्धी, महुवा, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, तथा कनकपट्टी गाविसलाई समावेश गरी अहिले २४ वडा विस्तार गरिएको छ । कुल एक लाख ५३ हजार ६ सय १४ जनसंख्या रहेको जनकपुर उपमहानगरपालिकामा झन्डै ८० हजार मतदाता रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया