ढुंगेल खोज्दै प्रहरी

balkrishna
काठमाडौं । सरकारले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको खोजी सुरु गरेको छ । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले विषेश सुरक्षा फौज तैनाथ गरेर खोजी कार्य सुरु गरेको स्रोतले जनाएको छ । प्रहरीको सूचनाअनुसार उनी सर्वोच्च अदालतको आदेशलगत्तै भारत पुगेका हुन् । गृहराज्यमन्त्री इन्द्र बानियाँले सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेललाई सरकारले खोजिरहेको बताए । राज्यमन्त्री बानियाँले प्रहरीको
सूचनाअनुसार उनी नेपालमा नरहेको जानकारी आएको बताए । उनले भने, ‘हामी खोजिरहेका छौं, उनी नेपालमा छैनन् । भारतमा बसिरहेका छन् भन्ने सूचना हामीसँग छ । उनलाई कुनैपनि माध्यमबाट पक्राउ गर्नको लागि पहल भइरहेको छ ।’
सर्वोच्च अदालतले नेता ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न गृहमन्त्रालय र प्रहरी प्रमुखलाई पत्र पठाएको छ । यसअघि नेता ढुंगेल सार्वजनिक कार्यक्रममा समेत देखिँदै आएका थिए । माओवादी केन्द्र र प्रधानमन्त्रीको भने उनी सम्पर्कमा रहेको स्रोतले जनाएको छ । प्रहरीको उच्च स्रोतका अनुसार उनी
आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै माओवादी नेतृत्वसँग सम्पर्कमा छन् । सम्पर्कमा रहेका नेतालाई समेत उनलाई पक्राउ गर्न निगरानीमा राखिएको प्रहरीका एक अधिकारीले बताए ।
यसैबीच प्रहरीको खोजीमा रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल राजधानीमा नै रहेको खुलासा भएको छ । उनी काठमाडौंको सिमलटारमा रहेको माओवादी केन्द्रको एक घरमा रहेको स्रोतले दाबी गरेको छ । प्रहरीलाई उनी भारतमा रहेको सूचना आएपनि उनी काठमाडौंको सिमलटारमा रहेको कुलप्रसाद खतिवडाको घरमा रहेको स्रोतले पत्ता लगाएको बताइएको छ ।
उनी काठमाडौंको कपन क्षेत्रमा रहेको र आफन्त माओवादी नेताका घरमा पालैपालो बस्ने गरेको उनीनिकट स्रोतले जनाएको छ । ‘प्रहरीले उनलाई खोजी गरिरहेको भन्ने सुनिन्छ, सूचनामा भारतमा छन् भन्ने जानकारी पनि दिएको छ’, उनका एक आफन्तले भने, ‘तर ढुंगेल काठमाडौंमा नै हुनुहुन्छ बिहीबार त खतिवडाको घरमा नै बसेका थिए ।’ उनले प्रहरीलाई आफू भारतमा रहेको सूचना दिएर ढाँटेका छन् ।

बैद्यको विरोध
काठमाडांै । सर्वोच्च अदालतले सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउन गर्न दिएको आदेशको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले विरोध गरेका छन् । ढुंगेल उनका पार्टीका सदस्य नभएपनि शनिबार विज्ञप्ति निकालेर उनले त्यसको विरोध गरे । सो पार्टीले प्रकाशित गरेको विज्ञप्तिमा ढुंगेलको जनयुद्धकालीन मुद्दा ब्युँताएर फैसला समेत गरी सात दिने पक्राउ पुर्जी जारी गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘बृहत् शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दाहरू राज्यको तर्फबाट तत्काल फिर्ता लिइनु पर्नेमा झन्डै दस वर्ष बितिसक्दा पनि सो नभएको र सत्य निरूपण मेलमिलाप गर्नका लागि भनी दुई वटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यसअनुसार पनि न गरिएको यथार्थ स्पष्ट नै छ’ सो पार्टीले विज्ञप्तिमा भनिएको छ । हालै रामेछापमा एक कार्यक्रमको आयोजना गरी बैद्य पक्षले ढुंगेललाई सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया