एमालेले मधेसीलाई हेप्यो ः देउवा

भैरहवा । कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडे र मधेसीबीच झगडा लगाउने षड्यन्त्र भइरहेको भन्दै यसमा सावधान हुन सबैसँग आग्रह गरेका छन् । साथै उनले एमालेले पहाडे राष्ट्रवादको कुरा गरेर मधेसीलाई हेपिरहेको आरोप लगाएका छन् । भैरहवामा मंगलबार आयोजित चुनावीसभामा देउवाले भने, ‘मधेसी पहाडेबीच झगडा गराउने षड्यन्त्र भइरहेको छ, हामी सावधान हुनुपर्छ । एमाले नेताहरूले पहाडे राष्ट्रवाद भन्दै मधेसीलाई हेप्ने काम गरिरहेका छन् ।’
सभामा देउवाले करिब सात मिनेट बोलेका थिए । उनले भने, ‘एकथरिले मधेसवाद भन्दै छन्, एकथरिले पहाडवाद भन्दै छन् ।’ देउवाले कांग्रेस मधेसको पार्टी भएको दाबी गरे । उनले मधेसी र पहाडेबीच एकताको खाँचो रहेको बताए । देउवाले भने, ‘कांग्रेस मधेसको पार्टी हो, कांग्रेस मधेसमै जन्मिएको हो ।’
देउवाले संविधान संशोधन प्रस्ताव पारित भएमा मधेसी जनताको भावनाको कदर हुने बताए । उनले संशोधन प्रस्ताव पारित गराएरै छाड्ने दाबीसमेत गरे । उनले भने, ‘हामी संविधान संशोधन गरिरहेका छौं । यसलाई पास गराएरै छाड्नेछौँ ।’ संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै देउवाले यसका लागि ७ माघसम्म तीन वटा निर्वाचन हुनैपर्ने बताए ।
३१ वैशाखको स्थानीय निर्वाचन हुँदैन कि भनेर शंका भइरहेको भन्दै देउवाले चुनाव हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने, ‘कसैले पनि चुनाव हुँदैन कि भन्ने शंका नगर्नोस् । चुनाव हुन्छ, हुन्छ, हुन्छ ।’नयाँ संविधानले स्थानीय तहको परिकल्पना गरेपछि सिंहदरबारको अधिकार गाउँमा आएको देउवाले बताए । उनले भने, ‘सिंहदरबारको अधिकार गाउँमा आएको छ । अब बजेट पनि आउँछ, कानुन बनाउने अधिकार पनि गाउँमा आएको छ ।’ प्रजातन्त्रलाई कसैबाट खोस्न नदिने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गरे । उनले सभामा भने, ‘कांग्रेस ०७ सालमा राणा र पञ्चायतलाई ढाल्ने पार्टी हो । राजासमेत हटाएर गणतन्त्र ल्याउने पार्टी हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनाएको पार्टी हो । कसैलाई प्रजातन्त्र खोस्न नदिने एक मात्र पार्टी कांग्रेस हो । त्यसैले कांग्रेसलाई जिताउनैपर्छ ।’

प्रतिक्रिया