पाकिस्तानी पूर्वकर्णेल लुम्बिनीबाट बेपत्ता

काठमाडौं । एक पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल लुम्बिनीबाट बेपत्ता भएका छन् । रोजगारीको खोजीमा नेपाल आएका पाकिस्तानी पूर्व कर्णेल मोहम्मद हवित तीन दिन अघिदेखि लुम्बिनीबाट हराएको बताइएको छ । उनी हराएको भन्दै पाकिस्तानी पत्रिका डनले आफ्नो अनलाइन संस्करणमा समाचार प्रकाशित गरेको छ । त्यसको आधिकारिक पुष्टि गर्दै पाकिस्तानी राजदूतावासले शुक्रबार नै नेपाल सरकारलाई जानकारी गराएको छ । पाकिस्तानी समाचारका अनुसार पूर्वकर्णेल हवित बेलायती मार्क थम्पसन नामक व्यक्तिले चलाउँदै आएको सोलुसन डट बिज नामक कम्पनीमा तीन हजार पाउन्डसहितको जागिरका लागि अफर गर्दै सम्पर्क गरेपछि उनी त्यसैको अन्तर्वार्ताका लागि नेपाल आएका हुन् ।
उनी लुम्बिनीको नेपाल–भारत सीमाक्षेत्रबाट हराएको बताइएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रबाट हराएको हुँदा उनी कसैको अपहरणमा परेको हुनसक्ने आशंका पाकिस्तानी पत्रिका डनले जनाएको छ । उनी बिहीबारदेखि परिवार र आफन्तहरूको सम्पर्कमा आएका छैनन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागले उनी हराएको विषय सम्बन्धित निकायमा खबर गरेर खोजी कार्य र यथार्थ बुझ्ने काम गरिरहेको जानकारी दिएको छ । विभागले उनी आउनुको कारण र अन्य विषयमा पनि जानकारी लिइरहेको र उनको खोजी कार्यलाई अगाडि बढाएको एक अधिकारीले जानकारी दिए ।
रोजगारी कै सिलसिलामा नेपाल आएका उनी बिहीबार काठमाडौं हुँदै लुम्बिनी पुगेको र लुम्बिनीबाट एकपटक परिवारसँग सम्पर्क भएको र त्यसपछि उनी सम्पर्कविहीन छन् । उनलाई जागिरका लागि बोलाउने व्यक्तिको नम्बर भारतीय भएको पाकिस्तानी सञ्चारमाध्यमको दाबी छ ।उनी हराएको आधिकारिक सूचना दिँदै खोजीका लागि पाकिस्तानी दूतावासले सरकारसँग अनुरोध गरेपछि नेपाल प्रहरी अहिले हबिबको खोजी कार्यमा लागेको छ । नेपाल प्रहरीको विशेष ब्युरो, क्षेत्रीय प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रहरी टोली हबिबको खोजीमा जुटेको स्रोतले बतायो । नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले खोजीका लागि मातहतका कार्यालयलाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया