खोजखबर

सात करोडको लागतमा खानेपानी आयोजना निर्माण

सौर्य अनलाइन २०७३ चैत २७ गते १०:२६ मा प्रकाशित

begkhola pani
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगमा सात करोडभन्दा बढीको लागतमा बृहत् खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।
खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुन लागेको हो । ६ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट, सिरबारी, सेउलु, बादुक र औलाका चार सय ५० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले जानकारी दिए ।
उनका अनुसार सरकारको ८० प्रतिशत अनुदान, उपभोक्ताको १९ प्रतिशत श्रमदान र एक प्रतिशत नगद लगानीमा आयोजना निर्माण हुन लागेको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिका सहसचिव खिमबहादुर फगामीले बताए ।
चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी निर्माणकार्य सकिएको छ । मुख्य र वितरण पाइपलाइन विस्तार, मुहान र रिजर्भ ट्यांकी था भल्ब च्याम्बर निर्माणकार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष परियारले जानकारी दिए ।
मुहानमा इन्टेक, मुख्य पाइपलाइन, एक लाख लिटर क्षमताको रिजर्भ ट्यांकी र वितरण लाइनमा ‘भल्ब च्याम्बर’ निर्माण भएको छ । घर÷घरमा मिटरसहितको निजी धारा जडान गरेपछि खानेपानी वितरण गर्ने तयारी भएको छ । स्थानीय बासिन्दा उत्साहित भएर श्रमदानमा जुटेका छन् ।
भल्ब च्याम्बर, रिजर्भ ट्यांकी मुख्य वितरण पाइपलाइन निर्माण गर्ने काममा स्थानीयवासीले श्रमदान गरेका छन् । प्रति घर एक महिनाभन्दा बढीका दरले श्रमदान गरेका हुन् । घरमै खानेपानी आउने भएपछि सुविधा हुने अपेक्षा गरिएको औलाकी बालकुमारी शर्माले बताइन् । बेगका बासिन्दाले हाल सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका छन् । पुरानो आयोजनाबाट आवश्यकताअनुसार खानेपानी आपूर्ति हुनसकेको छैन् । निजी धारा जडान गर्दा खानेपानीका साथै करेसाबारीको सिँचाइमा पनि सुविधा पुग्ने र आयोजनाको दिगो सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने उपभोक्ता समितिका सदस्य नेत्र पुनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय