भोट नदिइ यार्सा टिप्न नजाने

yarsa_KHBrbjt8ll
बझाङ । स्थानीय तह निर्वाचनको चहलपहल बढेपछि मतदान गर्न यहाँका स्थानीय निकै हर्षित भएका छन् । निर्वाचनमा मतदान गरेपछि मात्र यार्सागुम्बा टिप्न लेकतिर जाने उनीहरू बताँउछन् । बर्सेनि वैशाखको पहिलो सातातिर यार्सागुम्बा संकलन गर्न यहाँका स्थानीयको लर्को लेकतिर लाग्ने गर्दछ ।
विषेशतः जिल्लाका उत्तरी भेगका बासिन्दा यस वर्ष भने वैशाख अन्तिमसम्म यार्सा संकलन गर्न लेकतिर नजाने बताँउछन् । स्थानीय तह निर्वाचनमा मतदान गरी सक्षम जनप्रतिनिधि निर्वाचित गराउनुपर्ने भएकाले यस पटक यार्सा गुम्बा टिप्न वैशाखपछि मात्र निस्कने तलकोट गाउँपालिका रैसल्लीका ढुन्डुक लामाले बताए । उनले आफूलगायत रैसल्ली गाउँका कोही पनि मतदान नगरी यार्सातिर नजाने जानकारी दिए ।
समयमै यार्सागुम्बा बिक्री गरी आर्थिक जोहो गर्ने सोच बनाएका जिल्लाका यार्सा संकलकहरू स्थानीय तहको निर्वाचन नजिकिएपछि मतदानका लागि घरमै बसेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सुर्मा, दौलिचौर, दहबगर, काँडा, दाँतोला, मेलबिसौना, सैनपसेलाका बासिन्दा बर्सेनि यार्सा संकलन गर्ने गर्छन् । यस भेगका १० वर्षदेखि ६० वर्ष उमेर समूहका बृद्धसमेत यार्सा संकलन गर्न जाने गर्छन् ।
यस क्षेत्रका स्कुल पढ्ने बालबालिकासमेत यार्सा टिप्न हिमाल जाने गरेकाले ६० भन्दा बढी विद्यालय तीन महिनासम्म बन्द हुने गर्छ । ‘यस वर्ष निर्वाचनका कारणले वैशाखपछि मात्र यार्सा टिप्न लेकतिर जाने सोच बनाएका छौं’, काँडा गाउँपालिका ६ का गोरख बोहराले भने, ‘साहुको ऋण तिर्न बाँकी नै छ, यार्सा संकलन गरेर ऋण तिर्ने सोच थियो । यस वर्ष अलि ढिलो हुने भयो ।’ हरेक वर्ष करिब सात क्विन्टल यार्सा संकलन हुने बझाङमा स्थानीय तहको निर्वाचनमा मतदान गर्ने भन्दै हालसम्म कुनै पनि व्यक्ति यार्सा संकलन गर्न लेकतिर गएका छैनन् । ठेकेदारले पेस्की दिएका यार्सा संकलकहरू आफूले लिएको पैसाको ब्याजसहित दिन तयार छन् । तर स्थानीय तहको निर्वाचनमा मतदान नगरी यार्सा संकलन गर्न लेकतिर नजाने बताँउछन् । जिल्लाका यार्सा संकलकहरू स्थानीय तहको निर्वाचनले गर्दा अन्योलमा परेका छन् । निर्वाचन अगावै लेकतिर गए राजनीतिक दलले असहयोग गर्ने, लेकतिर नगए आर्थिक जोहो नहुने भएकाले उनीहरू अन्योलमा परेका हुन् ।

प्रतिक्रिया