आइजिपी नुहँदा प्रहरीमा समस्या

काठमाडौं । ७२ हजार जनालाई नेतृत्व प्रदान गर्नुपर्ने आइजिपी लामो समयदेखि रिक्त रहँदा प्रहरी संगठन भद्रगोल बन्दै गएको छ । दैनिक प्रशासन चलाउनेबाहेक अन्य अधिकार निमित्त तोकिएका आइजिपीमा नहुँदा संगठनमा यसको नकारात्मक प्रभाव देखिएको हो ।
२४ औँ आइजिपी उपेन्द्रकान्त अर्यालले गत २ फागुनमा नियमित अवकाश पाएदेखि सुरक्षाको संवेदनशील जिम्मेवारी बोकेको संगठन निमित्तको भरमा छ । सरकारले नियुक्त गरेका आइजिपी जयबहादुर चन्दको नियुक्तिलाई अदालतले अन्तरिम आदेशमार्फत् कार्यान्वयनमा रोक लगाएपछि प्रहरी नियमावली नै संशोधन गरी नेपाल प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त बनाएर संगठनको जिम्मेवारी सुम्पिएको थियो ।
धेरै अधिकार नदिइएका कारण बढीमा एक महिनाका लागि मात्रै निमित्त बनाउन सकिने नियमावलीले स्पष्ट व्यवस्था गरेको भए पनि त्यसैलाई संशोधन गरिएका कारण कानुनी रूपमा अप्ठेरो त परेको छैन तर प्रहरी प्रधान कार्यालय एक एसएसपीका अनुसार ‘कार्यालय नै भद्रगोल छ । के गर्ने, कसले गर्ने भन्ने नै अन्योलपूर्ण छ ।’ सर्वोच्च अदालतले सरकारले गरेको चन्दको नियुक्ति खारेज गर्दै नयाँ नियुक्ति तत्काल गर्न परमादेश दिएकै १९ दिन बितिसकेको छ । तर उपप्रधानमन्त्रीहरूबीच नै वरीयताको विवाद चल्दा मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन ।
आइजीको नियुक्ति हुन नसक्दा आठ जनासम्मको दरबन्दी रहिसकेको एआइजीमा अहिले कोही छैन । डिआइजी हुनुपर्ने एसएसपीहरूको बढुवा रोकिएको छ । एसपीबाट एसएसपी हुनेहरूको अवस्था पनि उस्तै छ । उनीहरू पनि कहिले आइजी नियुक्ति होला र आफ्नो बढुवा होला भनेर कुरिरहेका छन् । बढुवा नहुँदा संगठनका विभिन्न निकायहरू पनि अहिले निमित्तको भरमा नै चल्न थालेको छ । यसरी प्रक्रिया पूरा भइसकेका प्रहरीहरूको समेत बढुवा रोकिँदा कार्यक्षमता र पेन्सन सुविधासम्ममा दीर्घकालीन असर पर्ने देखिएको हो ।
प्रहरीको सरुवा बढुवा रोकिँदा उनीहरूको कार्यक्षमतादेखि पेन्सनलगायत अन्य वृत्ति विकासमा असर पर्ने पूर्वआइजिपी अच्युतकृष्ण खरेल बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको सामाजिक मान्यता र उत्तरदायित्वमा समेत ह्रास आउँछ । संगठन प्रमुख नहुँदा अहिले कति प्रहरी अधिकृतलाई कस्को कमान्डमा काम गर्ने भन्नेसमेत अन्योल थपिदिएको छ ।’
‘निमित्त प्रमुखमा संगठन सञ्चालन हुँदा आदेश दिने र लिने प्रहरीमा समेत फूल कन्फिडेन्ट हुँदैन’, खरेल भन्छन्, ‘जसले गर्दा प्रहरीको काममा नै प्रभाव पार्छ । बाहिरबाट हेर्दा प्रहरीले काम गरिरहेको देखिएपनि यसको असर भित्रभित्र परिरहेको हुन्छ ।’ अहिले संगठनमा प्रमुख नहुँदा प्रहरीको बजेटसमेत चलाउन समस्या भएको छ । जसको पछिल्लो एउटा उदाहरण म्यादी प्रहरीको पोसाक खरिद प्रक्रियालाई लिन सकिन्छ । म्यादी प्रहरी छनोट भएर तालिम सुरु हुने बेलासम्म पोसाकको टुंगो लागेको छैन । त्यस्तै संगठनले गर्ने महत्वपूर्ण नीतिगत निर्णयसमेत हुन सकेको छैन । नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनाल निमित्त आइजिपी हुँदा केही नीतिगत निर्णयहरूमा समस्या भएको स्वीकार गर्छन् । पूर्वआइजिपी खरेल चाहिँ अहिले प्रहरी संगठन विनामाउको चल्ला जस्तो भएको दाबी गर्छन् । उनी भन्छन्, ‘महानिरीक्षक हुँदा र निमित्त हुँदा आकाश पातालको फरक आएको छ । पदधारण गरेको व्यक्तिमा काम गर्ने र आदेश दिने जुन कन्फिडेन्ट हुन्छ, त्यो निमित्तमा हुँदैन । त्यसैले काम चलाउ मात्र हुन्छ ।’ अहिले संगठनभित्र आफूखुसी बिदा बस्ने र कामप्रतिको दायित्व ग्रहणसमेत नभएको एक प्रहरी अधिकृत बताउँछन् । निमित्तको भरमा चलेदेखि प्रहरी संगठन नै कमजोर भएको सुरक्षाविद् गेजा शर्मा वाग्लेको विश्लेषण छ । उनी भन्छन्, ‘लामो समय संगठन निमित्तको भरमा चल्दा तल्लो तहका प्रहरीमा मनोबल घटेको छ जसको प्रत्यक्ष नकारात्मक असर परेको देखिन्छ ।’

प्रतिक्रिया