सर्वोच्चले देउवासँग जवाफ माग्यो

काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई १० दिनभित्र लिखित जवाफ मागेको छ । आइजिपी नियुक्तिबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति कांग्रेसले गरेको निर्णयलाई लिएर कांग्रेस सभापतिविरुद्ध अदालतको अवहेलना मुद्दा परेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो । अदालतले गरेको फैसलाबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयले अदालतको अवहेलना गरेको दावी गर्दै अधिवक्ता हरिप्रसाद मैनालीले गएको आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मुद्दामा कांग्रेस र कांग्रेसका सभापति देउवालाई विपक्षी बनाइएको छ । १५ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको थियो ।’ नेपालको संविधानले संवैधानिक सर्वोच्चता र बहुदलीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महसुस गर्दछ ।’

प्रतिक्रिया