नेपाल प्रज्ञा–प्रतिष्ठानले १० स्रष्टालाई पुरस्कृत गर्ने

pragyaa_IpiIzzBKl4

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली वांङमयका १० विशिष्ट प्रतिभालाई जनही एक लाख रुपैयाँ नगदसहित ‘प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा आगामी ६, ७, र ८ जेठ २०७४ राजधानीमा आयोजना गर्ने बृहत राष्ट्रिय वाङ्मय गोष्ठीका अवसरमा नेपाली भाषा, साहित्य, संस्कृतिलगायतका विविध विधामा विशिष्ट योगदान पु¥याउने विशिष्ट प्रतिभा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कृत गरिने प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।
उप्रेतीले भने, ‘प्रतिष्ठानले सो अवसरमा ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘साठी वर्षका भाषिक चर्चा’, ‘मैथिली–नेपाली–अंग्रेजी शब्दकोश’, ‘तामाङ व्याकरण’ लगायत करिब तीन दर्जन महत्वपूर्ण ग्रन्थ–पुस्तकहरूको प्रकाशन पनि गर्नेछ ।’
उपकूलपति डा.विष्णुविभु घिमिरेले ९ असार २०७३ देखि प्रतिष्ठान हीरक वर्षमा प्रवेश गरेको बताउँदै त्यसयता देशभरि राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका गोष्ठी तथा समारोहहरूको आयोजना भइरहेको जानकारी दिए । आगामी ९ असार राजधानीमा आयोजना हुने वार्षिकोत्सवसँगै हीरक महोत्सव समापन हुने पनि डा.घिमिरेले बताए । प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीका अनुसार यसै आर्थिक वर्षभित्र प्रतिष्ठानले नवनिर्मित पुस्तकालय भवनमा ई–पुस्तकालय सञ्चालनको तयारी गरेको छ । सो भवनको भुइँतलामा अत्याधुनिक छापाखाना सञ्चालन गर्ने प्रतिष्ठानको तयारी रहेको पनि उनले जानकारी दिए । छापाखाना मेसिन सरकारको सहयोगमा ल्याउन लागिएको पनि उनले बताए ।

प्रतिक्रिया