नयाँवर्षमा ‘सायद–२’ का कलाकारसँग दर्शकको पार्टी

sayad
काठमाडौं । चलचित्र ‘सायद–२’ ले दर्शकमाझ नयाँवर्ष ०७४ को खुसी साटन कलाकारहरूसँग पार्टीको आयोजना गर्ने भएको छ । नयाँवर्षको अघिल्लो दिन अर्थात ३० चैतमा चलचित्र युनिटले ‘न्यु इयर इभ‘ (म्युजिकल नाइट) नामक भव्य कार्यक्रम आयोजना गर्न लागेको छ । दर्शक र कलाकारलाई एकै थलोमा भेला गराई नयाँवर्षको शुभकामना आदानप्रदान गर्ने मौका प्रदान गर्न कार्यक्रम आयोजना गरिएको आयोजक तथा चलचित्र निर्माता सुनील रावलले बताए । विभिन्न नाम चलेका कलाकारका साथै पत्रकारको समेत उपस्थिति रहने कार्यक्रममा ‘सायद–२’ का कलाकार सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावललगायतको विशेष प्रस्तुति रहनेछ । यी कलाकारसँग दर्शकले प्रत्यक्ष नाच्न तथा मनमा लागेको जिज्ञासा राख्न पाउनेछन् ।
साँझ पाँच बजेदेखि इन्टरनेसनल क्लब सानेपामा आयोजना हुने ‘न्यु इयर इभ’ (म्युजिकल नाइट) कार्यक्रममा डिजे प्रस्तुतिका साथमा अभिनेता अभिनेत्रीको आकर्षक नृत्यसमेत रहने बताइएको छ । दुर्गिस् फिल्मको ब्यानरमा सुनील रावलले निर्माण गरेको चलचित्र पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह–निर्माताको रूपमा रहेका छन् ।
कार्यक्रममा चलचित्रकोसमेत ट्रेलर रिलिज गरिनेछ । कार्यक्रममा विभिन्न डिजेहरूको पनि प्रस्तुति रहनेछ ।

प्रतिक्रिया