जर्मनीका वातावरणमन्त्री राजधानीमा

काठमाडौं । नेपाल र संघीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगलाई अझ सुदृढ तुल्याउने उद्देश्यले त्यहाँका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा.बारबरा हेन्डरिक्स नेपालको चार दिने भ्रमणका क्रममा हाल राजधानीमा रहेका छन् ।
यहाँ रहँदा मन्त्री हेन्डरिक्सले जर्मनीको सहयोगमा नेपालमा सञ्चालित वातावरण तथा वनसँग सम्बन्धित विकास परियोजनाबारे स्थलगत जानकारी लिनुका साथै वातावरणमन्त्री जयदेव जोशी र वनमन्त्री शंकर भण्डारीसँग द्विपक्षीय संयुक्त परामर्श गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनी राजदूतावासले जनाएको छ ।
उनले ललितपुरको गोदावरीस्थित गोदावरी ज्ञान उद्यानमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले कार्यान्वयन गरेको जैविक विविधता संरक्षण परियोजनाको व्यवस्थापन एवं सञ्चालनबारे स्थलगत जानकारी लिने कार्यक्रम रहेको छ ।
त्यसैगरी जर्मनीका वातावरणमन्त्रीले काभ्रेको काल्चीबेँसीस्थित पाल्तेखेत गाउँमा समुदायद्वारा सञ्चालित जलवायु परिवर्तनका चुनौती थेग्ने तथा अनुकूलन परियोजनाका साथै वन व्यवस्थापन एवं प्रकृति संरक्षणमा भएका प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । मन्त्री हेन्डरिक्स आइतबार राती नेपाल आएका हुन् ।

प्रतिक्रिया