सांसद दुलारीको निधनप्रति सदनमा शोक प्रस्ताव

काठमाडौं । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले सांसद दुलारी देवीको असामयिक निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । एमालेको तर्फबाट ०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी सांसद देवीको यही १० चैतमा निधन भएको थियो ।
भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी ४६ वर्षीया सांसद देवीको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । संसद्ले उनको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले शोक सन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । उनले नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएकी थिइन् । उनको आत्माको चिर शान्तिको कामनासहित बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बिहीबारको बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले उनको निधनसम्बन्धी शोक प्रस्ताव प्रस्तुत गरे । व्यवस्थापिका–संसद्को बैठकमा शोक प्रस्ताव पारित भएपछि अरू कार्यसूची नराखिने प्रचलन रहिआएको छ । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही २५ चैत शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया