प्रहरी नै अपहरणकारी भएपछि …

काठमाडौं । प्रहरीको बर्दीमा सजिएका दुई प्रहरी अधिकृतले काठमाडौंको कोटेश्वरबाट मेनपावर व्यवसायी अपहरण गरेर बन्धक बनाएको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) सूर्य थापा र महानगरीय अपराध महाशाखा दरबन्दी भएर गौशाला वृत्तमै कार्यरत सई सम्बत तामाङले मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेर बन्धक बनाएको खुलेसँगै प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । ‘दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ’, महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘एकजना मेनपावर व्यवसायी अपहरण प्रकरणमा उनीहरूको संलग्नता खुलेको छ ।’
प्रहरी अधिकृत द्वयले काभ्रेका अर्जुन लामा र रूपन्देहीका राजकुमार गुरुङको सहयोगमा मेनपावर व्यवसायी बद्री राईलाई गत १ माघमा काठमाडौंको कोटेश्वरबाट अपहरण गरेका थिए । करिब ६ घन्टा एअरपोर्टस्थित बाजेको सेकुवा कर्नरको माथिल्लो तल्लामा बन्धक बनाएर एक करोड लिन सफल भएपछि उनीहरूले राईलाई छाडेको अपराध महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख एसएसपी अमात्यका अनुसार २५ लाख दरका चार वटा चेक लिएर अपहरणकारीहरूले राईलाई मुक्त गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
धनकुटाको छिन्ताङ–५ स्थायी घर भएका बद्री राई धुम्बाराहीमा टाइगर ओभरसिज सञ्चालन गर्थे । केही समय पहिले राईको मोबाइलमा सई सम्बत तामाङले फोन गरेर ‘म सिआइबीको प्रहरी हुँ, सुन तस्करी गर्ने फुर्बा शेर्पा कहाँ छ निकाल’, भन्दै धम्की दिए ।तामाङले बारम्बार धम्की दिन थालेको केही दिनमा ‘कार्की सई’ नामका अर्का व्यक्तिले पनि राईलाई फोन गरेर ‘सुन तस्कर किन लुकाएको ?’ भन्दै धम्क्याउन थाले । गएको १ फागुनमा राईलाई सम्बत तामाङ र कुमार भन्ने राजकुमार गुरुङसमेतका व्यक्तिहरूले कोटेश्वर बोलाएर जबर्जस्ती मोटरसाइकलमा राखेर सिनामंगलस्थित बाजेको सेकुवास्थित गोप्य कोठामा लगेको अपराध महाशाखाले जनाएको छ ।
बाजेको सेकुवाको माथिल्लो तलामा बन्धक बनाएर राईको साथमा रहेको दुई लाख ३० हजार नगद जबर्जस्ती लुटेर, उक्त समूहले नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एक करोडका चेकमा हस्ताक्षर गराएर अपहरण मुक्त गरेका थिए । यसरी बन्धक बनाएर एक करोडभन्दा बढी पैसा लिएको उजुरी परेपछि अपराध महाशाखाका डिएसपी अजय केसीको कमान्डमा खटिएको प्रहरी टोलीले दुई जना सईसहित राजकुमार गुरुङ र अर्जुनबहादुर लामालाई पक्राउ गरेको हो ।
गत बुधबार राजधानीका विभिन्न स्थानबाट पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीपरिसर काठमाडौंमा पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया