पर्वत, २९ पुस । एकै घरका ४ जना मिर्गाैैला रोगबाट पीडित बनेको परिवारलाई मिर्गौला प्रत्यारोपण गर्न प्रवासी नेपालीले आर्थिक सहयोग गरेको छ ।
पर्वतको कुर्घा गाविस–२ को त्रिलोचन शर्माको परिवारलाई प्रवासी युवाले आर्थिक सहयोग गरेका हुन् । मिर्गौलापीडित परिवारका लागि सहयोग संकलन अभियान चलाइरहेको एकता युवा क्लब, पर्वतको संयोजनमा नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन ।
जनसम्पर्क समिति नेदरल्यान्डका पूर्वअध्यक्ष मनोहरि शर्मा र उपाध्यक्ष विष्णु पोखरेलको अगुवाइमा संकलन भएको ६५ हजार ५ सय १३ पीडित शर्मालाई हस्तान्तरण गरिएको छ । पर्वतका प्रजिअ शम्भुप्रसाद मरासिनीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । केही दिनपहिले जिविस पर्वतले ४० हजार सहयोग गरेको थियो ।
सहयोग हस्तान्तरण गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीले पीडित परिवारका लागि सरकारी निकायबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको बताए । एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पीडित परिवारको घाउमा मल्हम लगाउन सहयोग संकलन अभियान जारी राख्ने बताए । ‘अहिले सानो सहयोग संकलन भएको छ’, उनले भने, ‘यसलाई अभियानकै रूपमा अगाडि लैजान्छौँ ।’
शर्माको परिवारका ४ जना सदस्यको मिर्गौला फेल भएको छ । १ सन्तानको सोही कारणले ज्यान गइसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मिर्गौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा एउटा मात्र मिर्गौला बाँकी छ । एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिलेसम्म ४ जनाको उपचार र बाँकी सदस्यको औषधि खर्च चलाउँदै आएको बताए ।
‘४–४ जनाको मिर्गौला प्रत्यारोपण र नियमित औषधि खर्च जुटाउन मुस्किल छ’, उनले भने, ‘सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन् ।’ मिर्गाैला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गाैला प्रत्यारोपण गरिएको छ । अहिले पत्नीका २ वटै मिर्गाैला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।
‘रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागे पनि रोग नलागोस् भनेर कामना गरिन्छ तर, मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बनेर आयो’, शर्माले भने, ‘परिवारका सबै सदस्य मिर्गाैलाबाट पीडित हुँदा घरबास उठ्यो ।’
पत्नी प्रेमकला पौडेलको अहिले डायलाइसिस भइरहेको छ । उनको मिर्गौला प्रत्यारोपण गर्न जरुरी भइसकेको छ । ‘डायलाइसिसबाट सधैँ बस्न सकिँदैन’, त्रिलोचनले भन्छन्, ‘सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।’
माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि संक्रमण हुने र नियमित रूपमा औषधि खानुपर्ने समस्या छ । जेठो छोरा प्रकाशको ०६३ सालमा २६ वर्षको उमेरमा मिर्गौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मिर्गाैला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभावमा मृत्यु भयो । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।
प्रतिक्रिया