वीरगञ्ज, २८ पुस । भारतीय अर्थमन्त्रालयले बिहारको रक्सौलमा मुद्रा सटही सुविधा दिने काउन्टर सञ्चालनमा ल्याउने भएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार नेपाल–भारत सीमा क्षेत्रमा राख्न लागिएको यस काउन्टरको मुख्य उद्देश्य नेपालबाट भारततर्फ जाने पर्यटकहरूको सुविधाको लागि हुनेछ ।
रक्सौलमा हाल भारतका १५ वटा राष्ट्रियस्तरका बैंक सञ्चालनमा रहे पनि मुद्रा सटही काउन्टर छैन । समाचार अनुसार नेपाल–भारत दुवै तर्फबाट दैनिक करिब २ हजार पर्यटकहरू आवतजावत गर्छन् । तर, मुद्रा सटहीको असुविधा भोगिरहनुपरेको छ ।
भारतीय प्रोफेसर स्वाम्भु सलाबले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेर मुद्राको कारण नेपालीले भोग्नुपरेको कठिनाइ सुनाएपछि सरकारले यस्तो निर्णय गरेको समाचारमा उल्लेख गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जनवरी ४ मा प्रोफसरलाई पत्राचार गरेर यसमा अर्थमन्त्रालयले काम अगाडी बढाएको जानकारी दिएका थिए । भारतीय भन्सार विभागको स्रोत उल्लेख गर्दै समाचारले त्यहाँ करिब ३० वटा अवैधानिक मुद्रा सटही काउन्टर भए पनि कुनै वैधानिक काउन्टर नभएको लेखेको छ ।
प्रतिक्रिया