जलपंक्षि गणना सुरु

चितवन, २८ पुस । चराको अवस्था पत्ता लगाउन चितवनका विभिन्न क्षेत्रमा जलपंक्षिको गणना सुरु गरिएको छ । चितवनको राप्ती नदी र ढुंग्रे खोलाबाट बुधबारदेखि जलपंक्षिको गणना सुरु गरिएको चरा विज्ञ तथा वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए ।

उनका अनुसार गणना कार्य बुधबारदेखि २ हप्तासम्म चल्नेछ । राष्ट्रव्यापी रूपमा पुस २३ देखि माघ १० सम्म जलपंक्षिको गणना गरिने भएपनि चितवन र नवलपरासी लगायतका क्षेत्रमा भने बुधबारबाट मात्र सुरु भएको बिंडारीले जानकारी दिए । राप्ती र नारायणी क्षेत्रमा एकैसाथ गणना गरेर चराको अवस्था पत्ता लगाइने उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा पानीमा पाइने चराको वासस्थान रहेको छ ।

चितवनमा पाइने चरा मध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । त्यसैले पानीमा पाइने चराको बासस्थानको अवस्था यकिन गर्न गणना थालिएको हो । नेपालमा ८ सय ८७ प्रजातीका चरा पाइन्छन् । पछिल्लो तथ्यांक अनुसार चितवनमा ६ सय ३३ प्रजातीका चरा छन् ।

यसपालीको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन हुने बर्ड एजुकेसन सोसाइटीले जनाएको छ । सोसाइटीको अगुवाई र चितवन निकुञ्जको सहयोगमा गणना थालिएको हो । गणनाका लागि ५० जना गाइड परिचालन गरिएको छ । ढुंग्रेखोला, बुढी राप्ती, कसरा, राप्ती नदी, लामीताल, राप्ती घाट, तमोर ताल, विसहजारीताल र नवलपरासी सेक्टरमा समेत गणना हुने जनाइएको छ ।

प्रतिक्रिया