कृषिमा परनिर्भरता त्याग्नुपर्छ : मन्त्री तामाङ

काभ्रे, २७ पुस । कृषिमा नयाँ क्रान्तिका कुराहरूले गफमा मात्रै चर्चा कमाइरहेको बेला कृषिमन्त्री राधिका तामाङले पर निर्भरता त्याग्न सक्नुपर्ने बताएकी छन् ।

नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आत्मनिर्भरता बढाएर परनिर्भरता त्याग्नुपर्ने उनले बताएकी छिन् । मंगलबार काभ्रेको नालामा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन । देशमा वर्तमान आवश्यकता नै कृषिमा आत्मनिर्भरता हुने र परनिर्भरता त्याग्नुपर्नेमा जोड दिएकी हुन ।

सुपरजीनले उग्रचण्डी नालामा आयोजना गरेको माटो परीक्षण कार्यक्रममा बोल्दै मन्त्री तामाङले कृषि मन्त्रालयले हाल गरेका कार्यहरूमध्ये यो कार्य बाहै्र र अन्यभन्दा पृथक खालको रहेको भन्दै कृषि मन्त्रालयमा पुगिसकेपछि मात्र आफूले नेपालका सबै क्षेत्रमा माटोको परीक्षणको पहुँच नपुगेको र आफूले त्यसको आवश्यकता महसुस गरेर नेपालका सातैवटा प्रदेशमा माटो परीक्षण गरी बातावरण सुहाउँदो खेतीमा सुपरजीनको सिद्धान्त अनुसार खेती प्रणाली सुरु गर्न लागिएको बताएकी छन् ।

उनले सुपरजीन कुनै दातृ निकायको सहयोगमा सञ्चालित नभई सरकारकै पहल, सोच र क्षमतामा यो स्थितिसम्म ल्याउन सफल भएको र यो कार्यक्रम देशमा पहिलोचोटी सञ्चालित कार्यक्रम रहेकोसमेत बताएकी छन् । नेपालमा सुपरजीनमार्फत कृषि प्रणाली सुरु गरिसकेपछि बिदेसिने युवाहरूको संख्या घट्दै जान सक्ने आशा व्यक्त गर्दै कृषिमा नै रोजगारी स्थायी रूपमा रहेको र व्यावसायिकतालाई अँगाल्दै लानुपर्ने विचार व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला कृषि कार्यालय, काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले काभ्रे जिल्लामा कृषिको विकासका लागि कार्यालय सधैँ जिम्मेवार रहेर काम गर्ने बताएका थिए । उनले सबै कृषकहरूको सहयोगका लागि आपूmहरू सधैँ तत्पर रहेको बताए । सो कार्यक्रमले काभ्रे जिल्लालाई आलुमा आत्मनिर्भर बनाई उन्नत बीउको उत्पादन गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गरी औद्योगिकीकरण गर्ने लक्ष्य राखेको छ । र, यो आयोजना १० वर्षसम्म निरन्तर चल्ने बताइएको थियो ।

प्रतिक्रिया