सहयोगीको भरमा विद्यालय तीन वर्षदेखि प्रअ गायब

ओखलढुंगा, २६ पुस । बासको भाटाले बारेको एउटा कोठामा दुईवटा कक्षाको पढाइ हँुदै थियो । एउटा कोठाको एक कुनामा कक्षा २ का विद्यार्थी पढदै थिए, अर्को कुनामा कक्षा ३ का विद्यार्थीहरु । त्यस्तै अर्को कोठामा कक्षा १ मा जम्मा ३ जना विद्यार्थी थिए ।

कक्षा १ का ३, २ कक्षाका ३ र ३ कक्षाका २ जना गरी जम्मा विद्यार्थी ८ जना थिए । कक्षा कोठाभित्रै दिसा गरिएको थियो । ‘यो केटाकेटीले दिसा गरेका हुन्’ त्यहाँ पढाइरहेकी विद्यालय सहयोगी मनिका तामाङले भनिन्, ‘केटाकेटीले यस्तो त अलि–अलि गरिहाल्छन्’ उनले समान्य रुपमा भनिन् ।

ओखलढुंगाको अति दुर्गम गाविस पात्लेको वडा नं. २, कात्तिकेस्थित जनकल्याण आधारभूत विद्यालयको अवस्था कल्पना गरेभन्दा बेहाल छ । सुन्नेलाई पत्याउन गाह्रो हेर्नेलाई अनुभूति गर्न । विद्यालयमा पुग्दा जस्तापाताको छाना र त्रिपालको बारमा रहेको २ वटा कक्षा कोठाभित्र विद्यालय सहयोगी मनिका तामाङ जाडोले काम्दै गरेका विद्यार्थी पढाइरहेकी थिइन् ।

विद्यालयमा  विद्यार्थी भर्नाको संख्या भने २३ छ । तर, उपस्थित ८ जना मात्र थिए । पुसमा हिउँ परेकोले जाडो बढ्दा विद्यार्थीहरु नआएको विद्यालयकी सहयोगी मनिकाले जानकारी दिइन् । कक्षामा पढ्न आएका विद्यार्थीहरु पनि जाडोले काम्दै थिए । ‘जाडो भएपछि साथीहरु स्कुल नै आउँदैनन्’ कक्षा १ का छात्र सोनाम शेर्पाले भने, ‘आज नि खुब जाडो भा’को छ, साथीहरु आएनन् ।’

सरकारको राहत कोटामा कार्यरत शिक्षिका सुनितामाया तामाङ विद्यालयकै कामले बाहिर भएको कारण विद्यालय आएकी थिइनन् । प्रधानाध्यापक रुद्रसिं थापालाई ३ वर्षदेखि विद्यालयमा नदेखेको सुनिताले बताइन् । शिक्षा कार्यालयमा बुझ्दा काजमा उदैपुर निमावि मानेभन्ज्याङमा रहेको बताइयो ।

‘हेडसर कहाँ हुनुहुन्छ, थाहा छैन’ अप्ठेरो मान्दै उनले भनिन् । मासिक ४ हजार तलबमा सहयोगी नियुक्त भए पनि विद्यार्थी पढाउने काम गर्दै आएकी मनिकाले अधिकांश समय आफैले पढाउने गरेको बताइन् । भूकम्पले ढुंगा माटोको गाह्रो भएको भवन भत्काएपछि गतवर्षदेखि त्रिपालले बेरेको अस्थायी टहरामै पठनपाठन हुँदै आएको छ ।

समुन्द्री सतहदेखि २ हजार ४ सय मिटरको उँचाइमा अवस्थित यहाँका विद्यालयमा जाडो महिनामा धेरै जसो विद्यार्थी आउनै मान्दैनन् । स्थानीयले भने विद्यालयमा काजमा रहेका प्रधानअध्यापक फिर्ता बोलाई व्यवस्थित गर्नुपर्ने माग राखेका छन् ।

तत्काल विद्यालय गाभ्दा नजिकै रहेका बस्तीका साना उमेरका केटाकेटी अन्त पढ्न जानका लागि टाढा हुने स्थानीय आङबाबु शेर्पाले बताए । गाविस भरीमा जम्मा ७ वटा आधारभूत विद्यालय र ३ वटा माध्यमिक विद्यालय रहेका छन् । सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले हालै गाविसभित्रका विद्यालयबाट काजमा गएका शिक्षकहरु फिर्ता बोलाउने निर्णय गरेको शिवालय माध्यमिक विद्यालय छेर्मादिङका व्यवस्थापन समिति अध्यक्ष लाक्पागेल्जे शेर्पाले बताए ।

जिल्ला शिक्षा कार्यालय ओखलढुंगाका सुचना अधिकारी शंकरबाबु श्रेष्ठले विद्यालयको समस्याका बारेमा सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षकसँग बुझ्ने बताए । अभिभावकले भने पहुँचका भरमा शिक्षकको एक दरबन्दीमा रहेका शिक्षक पनि काजमा राखेकोले विद्यालय सहयोगीको भरमा चलेको गुनासो गरेका छन् ।

प्रतिक्रिया