दोलखा, २६ पुस । भूकम्प गएको २० महिना पुग्दा दोलखाका ८८.०६ प्रतिशत भूकम्पपीडितले अनुदानको पहिलो किस्ता पाए । दोलखामा ५१ हजार ९४० जना भूकम्पपीडितको सूचीमा भए पनि हालसम्म ४५ हजार ७ सय ४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ ।
प्राधिकरणका अनुसार सम्झौता सकिएको तर, रकम बैंक खातामा जम्मा नभएका १ हजार ६ सय ५२ जनाको पनि चाँडै रकम बैंक खातामा जम्मा हुनेछ । ४ हजार ५ सय ४८ जना भूकम्पपीडितसँग भने सम्झौता हुन बाँकी छ । प्राविधिक समस्या देखिएका कारण अनुदानका लागि सम्झौता हुन नसकेको बताउँदै समस्या समाधान गरी सम्झौता गराएर रकम वितरण गर्ने जनाइएको छ । ४५ हजार ७ सय ४० जनाले अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको संख्या रहेको हो । दोस्रो किस्ताका लागि केही भूकम्पपीडितले माग गरेकाले प्राविधिकले निरीक्षण गरेको र स्थानीय निकायको सिफारिसमा दोस्रो किस्ताका लागि प्रक्रिया सुरु भएको हो । भूकम्पपीडित परिचयपत्रलाई आधार मान्दा दोलखामा ३० हजारको हाराहारीमा लाभग्राहीको सूचीबाट भूकम्पपीडितको नाम छुटेको थियो ।
छुटेकालाई सम्बोधन गर्ने गरी सरकारले गुनासो फाराम भर्ने व्यवस्था गरेसँगै दोलखामा २१ हजार ७ सय १२ जना भूकम्पपीडितले लाभग्राहीको सूचीमा आफूलाई राखियोस् भन्दै फाराम भरेका थिए । उक्त फाराम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइसकिएकाले लाभग्राहीको सूचीबाट छुटेका ७० प्रतिशत भूकम्पपीडितको नामावली कार्यकारी समितिमा सिफारिस भएको प्राधिकरणको जिल्ला समन्वय समितिले जनाएको छ ।
सम्झौता हुन बाँकी रहेकामा दोलखाको भेड्पु गाविस र शैलुङ्गेश्वर गाविसका भूकम्पपीडित सबैभन्दा बढी छन् । भेड्पु गाविसमा सिङ्गो गाउँ नै जग्गा धनी पुर्जाविहीन भएकाले छुटेको हो भने शैलुङ्गेश्वरमा धेरैको नाम छुटेका कारण लाभग्राहीको सूचिमा परेकाहरुले पनि सम्झौता गर्न मानेका छैनन् ।
प्रतिक्रिया