बैतडी, २४ पुस । केही समय अघिसम्म जिल्लाका सबै स्थानमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हुँदै जान थालेपछि यसको सुधारको माग बढेको छ ।
कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रूपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको तल्लादेहीका स्थानीयबासिन्दा नरेन्द्र भण्डारीले बताए ।
सुधारिएको मदानीबाट घट्ट चलाउन २ इन्च पानी भए पुग्छ । नदी र खोलाहरूमा पानीको सतह घट्दै गएपछि आधुनिक पानीघट्टको आवश्यकता परेको भण्डारीले बताए । ‘सडक सञ्जाल र विद्युत् नभएको पुर्चौडी क्षेत्र आधा दर्जन गाविसमा आधुनिक पानीघट्ट पु¥याउनु जरुरी रहेको छ’, उनले भने, । ‘पानीघट्टकै भरमा कुटानी पिसानी हुन्छ, विद्युत् नपुगेकाले यस्तो ठाउँमा परम्परागत पानीघट्ट सुधारको आवश्यकता छ ।’
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिँदै आएको थियो । तर, विगत ६ महिनादेखि उक्त कार्यक्रम बन्द भएकाले पानीघट्ट सुधारको माग गर्दै जिल्लामा निवेदन थुप्रिएका छन् । वैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक चेतना तथा विकास संघका अनुसार अहिलेसम्म ६ सय जति सुधारिएका घट्ट जडान भइसकेका छन् ।
जिल्लामा १ हजार ५ सयको हाराहारीमा घट्ट सञ्चालनमा रहेको तथ्यांक छ । तीमध्ये ६ सय मात्रै सुधारिएका छन् । घट्ट सुधार गर्न पाइप, औजार र उपकरणमा २५ हजारसम्म लगानी हुने गरेको बताइएको छ । परम्परागत रूपमा प्रयोग हुने काठका सामग्रीको सट्टा पछिल्लो समय फलाम र पोलिथिनका सामग्री राखिन थालिएको छ ।
नयाँ घट्ट बनाउँदा घर र कुलोसहितमा डेढ लाखसम्म खर्च हुने बताइएको छ । ‘उपभोक्ताबाट अत्यधिक माग आएको छ, पानीघट्ट सुधार कार्यक्रमलाई निरन्तरता दिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग पहल गरिरहेका छौँ’, भण्डारीले भने ।
विद्युत् र डिजेल मिलमा भन्दा घट्टमा पिसानी सस्तो र यहाँ पिसेको पिठो मीठो हुने भएका कारण गाउँमा यसको माग बढेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया