जनकपुर, २४ पुस । ‘काम नगरी सरकारी तलबभत्ता लिन पाइन्छ’, भन्ने सुन्दा अचम्म लाग्नसक्छ । अचम्म मान्नु पर्दैन, धनुषाका सामुदायिक विद्यालयमा कार्यरत पहुँचवाला शिक्षक वर्षभरी विद्यालयमा पढाउँदै नपढाई तलबभत्ता बुझ्छन् ।
दरबन्दी मिलान हुन नसक्दा धनुषाका विद्यालयमा कतै शिक्षकको अभाव छ, भने, कतै विद्यार्थीभन्दा शिक्षक बढी छन्, जसले कामै नगरी तलबभत्ता पाइरहेका छन् । धनुषाको फूलगामामा ०६५ सालमा स्थापना गरिएको जनता राष्ट्रिय प्राथमिक विद्यालयमा दलित तथा पिछडिएका समुदायको १ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । भुइँमै बसेर पढाइ हुँदै आएको यस विद्यालयमा फर्निचरको अभावसँगै १ जना शिक्षक र २ जना पिसिएफ शिक्षिका मात्र रहेको सो विद्यालयका प्राचार्य नितियानन्द झाले बताए ।
जनकपुरको असर्फी साह निम्न माध्यमिक विद्यालयको अवस्था भने फूलगामाको विद्यालयभन्दा निकै फरक रहेको छ । शिक्षक संघ धनुषाका सचिव रामस्नेही यादव प्राचार्य रहेको यस विद्यालयमा आवश्यक फर्निचरसँगै २ सय ४ जना विद्यार्थीका लागि १४ जना शिक्षक कार्यरत रहेको असर्फी साह निमाविका प्राचार्य यादव बताउँछन् ।
जिल्ला शिक्षा कार्यालय धनुषाले जनकपुरको राजर्षिजनक राष्ट्रिय प्राथमिक विद्यालय झुलाघरमा १ सय २५ जना विद्यार्थीका लागि १४ जना शिक्षक खटाएको छ । यसैगरी जनकपुरकै जनता राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ । १ सय ४३ जना विद्यार्थीका लागि पनि ११ जना शिक्षक खटाइएको श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मण अखडा जनकपुरका प्रध्यानाध्यापक रामशमशेर साहले बताए ।
जनकपुरमा रहेका १६ वटा प्राथमिक विद्यालयमा ८ सय ८३ जना बालबालिका मात्र अध्ययनरत रहे पनि सयजना शिक्षक कार्यरत छन् । ग्रामीण क्षेत्रका विद्यालयमा दरबन्दी भए पनि शिक्षक संघ–संगठनका अगुवा र राजनीतिक दलका नेताका नातागोता सदरमुकाम केन्द्रित हुँदा धनुषाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान नगरिएको श्री महारानी माई राष्ट्रिय प्राथमिक विद्यालय भतहीपटेर्वाका प्रध्यानाध्यापक पशुपति ठाकुरले बताए ।
धनुषाका जिल्ला शिक्षा अधिकारी शंकरकुमार कार्कीकाअनुसार २ सय ८६ वटा प्राथमिक विद्यालयमा १ हजार ३ सय भन्दा बढी शिक्षक कार्यरत छन् । यस्तै ८३ वटा निम्न माध्यमिक विद्यालयमा २ सय ३३ जना शिक्षक छन, भने ६१ वटा माध्यमिक विद्यालयमा ३ सय २ शिक्षक छन् । शिक्षा नियामावलीमा तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ३० जना विद्यार्थी बराबर १ जना शिक्षक राख्ने प्रावधान छ । तर, लामो समयदेखि धनुषामा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिएको छैन । जसले सामुदायिक विद्यालयको पठनपाठन नै प्रभावित भएको छ ।
प्रतिक्रिया