विमानस्थलको काम थाल्न मन्त्रीको निर्देशन

बुटवल, २२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले समयमै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सक्न निर्देशन दिएका छन् ।

राष्ट्रिय गौरवका रूपमा रहेको यस आयाजनाको मन्त्री शाहीले बिहीबार निरीक्षण गरे । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अवलोकन गर्दै उनले निमार्णका क्रममा आउने समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले कुनै पनि बहानामा विमानस्थल निमार्णमा ढिलाइ हुन नहुने बताए ।

निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाका निर्देशक ओम शर्माले निर्माणको प्रगतिका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । आयोजनाले थप ५ सय बिघा जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ । जग्गा अधिग्रहणका लागि गतमंसिरमा नै सूचना प्रकाशित भइसकेको छ । थप जग्गा अधिग्रहणपछि विमानस्थलको कुल क्षेत्रफल ७ सय ८७ बिघा हुनेछ ।

११ रोपनीमा फैलिएको यो विमानस्थल क्षेत्रफलको आधारमा मुलुककै सबैभन्दा ठूलो विमानस्थल हुनेछ । आयोजना निमार्णका क्रममा ३ सय २० घरधुरी पूर्णरूपमा विस्थापित हुन सक्नेछन् । उनीहरूलाई अहिले अधिग्रहण भएकै क्षेत्रभित्र पुनःस्थापित गराउने योजना रहेको आयोजनाले जनाएको छ । विमानस्थल निर्माण कार्यको शिलान्यास ०७१ माघ १ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गर्ने हो भने अबको डेढ वर्षभित्र विमानस्थल निर्माण भइसक्ने जनाइएको छ ।

प्रतिक्रिया