सुनसरी, २२ पुस । कोसीटप्पु वन्यजन्तु आरक्षबाट केही अर्ना चितवन राष्ट्रिय निकुञ्जमा सार्ने कुराको सुनसरीका सरोकारवालाले विरोध गरेका छन् । स्थानीय सरोकारवालाले अर्ना सार्ने हो भने कोसीटप्पु वन्यजन्तु आरक्षको दिगो विकास योजनालाई पनि अघि सार्नुपर्ने माग गरेका छन् ।
सरकारी पक्षले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र संरक्षित बबुल प्रजातिको दुर्लभ अर्ना प्राकृतिक विपत्ति पर्दा वंश नै जोखिममा पर्न सक्ने भन्दै कोसीटप्पु आरक्षको जस्तै वातावरण मिल्ने चितवन राष्ट्रिय निकुञ्जमा सार्ने प्रयास गरिएको भन्दै आएको छ ।
१ वर्षअघिदेखि नै आरक्ष प्रशासन विभाग र स्थानीय प्रशासनले चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट ३० वटा भाले र पोथी अर्ना लैजाने तयारी गर्दै आएको थियो । यतिखेर कोसीटप्पु वन्यजन्तु आरक्षमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यही बेला आरक्षमा पर्यटक आउने मौसम भए पनि आरक्षमा कसैलाई प्रवेश नदिइएको हो । आरक्षमा पछिल्लोपटक ०७२ चैतमा गरिएको गणनामा ४ सय ३० अर्ना पाइएको थियो ।
अर्ना सार्ने विषयमा स्थानीयवासीको कडा आपत्ति छ भन्ने प्रश्नमा आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले धेरैपटक स्थानीयवासी, स्थानीय प्रशासन र मध्यवर्ती क्षेत्र विकास समितिसँगको छलफलपछि सहमति बनेको दाबी गरे । लामो समयदेखि पर्या–पर्यटन अर्ना बचाउ अभियानमा सक्रिय रहँदै आएको स्थानीय समितिका अध्यक्ष कुरबान मन्सुरीले आरक्ष प्रशासन र स्थानीय प्रशासनले स्थानीयवासीले अर्ना चितवन लैजाने विषयमा कडा आपत्ति जनाउँदै आएकाले नै आरक्ष प्रवेश निषेध गरेको आरोप लगाएका छन् ।
चितवनमा अर्ना सार्ने तयारी थालेपछि स्थानीय मध्यवर्ती क्षेत्रका सरोकारवालाले अर्ना सार्नुभन्दा पहिला आरक्षको महत्वलाई अझ बढाउन बाह्रसिङ्गे र गैँडा ल्याएर संरक्षणको आधार तयार पार्न दबाब दिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले भने पुसभित्रै कोसीटप्पुबाट अर्ना ल्याउने गरी तयारी थालेको बताइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार २ हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ ।
प्रतिक्रिया