नारायणगढ–मुग्लिन सडक दैनिक ४ घन्टा रोकिने

चितवन, ८ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबारदेखि दैनिक ४ घन्टा रोकिने भएको छ । बिस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक ४ घन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ ।

सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको समय अघिपछि पनि ट्राफिक जामका कारण यात्रुले दुःख पाउने र सडक विस्तारमा अवरोध हुने हुँदा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको हो । सो सडकको मुग्लिनदेखि कालीखोलासम्मको २ किलोमिटर भागमा सडक चौडा गरिँदै छ ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो क्षेत्रमा ५ दशमलव ५ मिटर मात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदै छ । त्यसका लागि भित्ता काट्नुको विकल्प नरहेको भन्दै उनले १ सय ५० फिट अग्लो पहाडलाई काटेर सडक चौडा गरिने बताए । यहाँ कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटर मात्रै चट्टान काट्न सक्छ ।

यसैगरी, सडकको १६ किलोमा ५ सय मिटर र घुमाउनेमा २ सय मिटर लामो डाँडो नै काट्नुपर्ने हुन्छ । यसका लागि आयोजनाले स्थानीय प्रशासनसँग दैनिक ८ घन्टा सडक रोक्न माग गरेको भए पनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै बिहीबारदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्रै ४ घन्टा आवागमन रोक्न अनुमति दिएको छ । सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक ६ हजार १ सय ७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ ।

दिउँसो ४ घन्टाको समयमा सो सडक हुँदै जाने १ हजार ४ सय २६ सवारीसाधन अर्थात् २३ दशमलव ०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ । यसका अतिरिक्त अन्य समयमा हुने सवारीको चाप त्यत्तिकै रहन्छ जसका लागि वैकल्पिक मार्गको विकल्प नभएको आयोजनाले जनाएको छ ।

आयोजनाले सार्वजनिक गरेको सवारी रुटअनुसार राजधानी काठमाडौंबाट पूर्वतर्फ जाने ३ वटा वैकल्पिक मार्ग प्रयोग गर्दा छोटो दुरीमा गन्तव्य पुग्न सकिने देखिन्छ । पश्चिमतर्फ भने एउटा मात्रै वैकल्पिक मार्ग भएकाले केही लामो दुरी यात्रा गर्नुपर्ने हुन्छ ।

इन्जिनियर खनालका अनुसार पूर्व जान बिपी राजमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–बल्खु मार्ग प्रयोग गर्न सकिन्छ भने पश्चिमका लागि पृथ्वीराजमार्ग हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर गन्तव्यसम्म जान सकिन्छ । ती मार्गबाट १२ मिटरभन्दा लामा र बढी भार भएका ट्रकको हकमा भने नारायणगढ–मुग्लिन सडकको विकल्प नभएको खनालले बताए ।

वैकल्पिक रूपमा बिपी राजमार्ग प्रयोग गरेर बनेपा हुँदै बर्दिबाससम्म पुग्दा १ सय ७७ किलोमिटर, त्रिभुवन राजपथ प्रयोग गरेर नौबिसेबाट हेटौँडा पुग्दा १ सय ८ किलोमिटर, बल्खुबाट भीमफेदी हुँदै हेटौँडासम्म जाँदा १ सय ४६ किलोमिटर दुरी छोटो हुने आयोजनाले जनाएको छ ।

पश्चिम नेपालतर्फ भने मुग्लिनबाट पोखरा हुँदै बुटवल जाँदा ७१ किलोमिटर दुरी लामो हुने देखिएको छ । सवारी आवागमन बन्द भएपछि हुने सवारी जामलाई व्यवस्थित गर्न सडकखण्डमा चौबिसै घन्टा मोटरसाइकलमा प्रहरी परिचालन गरिँदै छ भने बिग्रेका सवारी हटाउनका लागि क्रेन र डोजर तयारी अवस्थामा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले यात्रुवाहक सवारी र मालवाहक सवारीलाई फरक फरक लाइन लगाएर यात्रुवाहकलाई प्राथमिकता दिएर सडक पार गराउने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया