बारपाकमा पुनर्निर्माणले गति लिँदै

गोरखा, ७ पुस । बारपाकलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको २० महिनापछि बारपाकसहित गोरखाका अन्य गाउँमा पुनर्निर्माणले गति लिएको छ । ५० हजार रूपैयाका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गर्न थालेका छन् ।

बर्खाका बेला अवरुद्ध बनेका ग्रामीण सडक हिउँद लागेसँगै सञ्चालन हुँदा पुनर्निर्माणको सामग्री ढुवानीमा सहज भएको हो । अधिकांश भूकम्पपीडितले ढुंगा, गिट्टी, बालुवा, छड, सिमेन्टको प्रयोग गरी पिल्लर राखेर घर बनाएका छन् । भूकम्पले पिल्लर भएका घरमा कम क्षति पु¥याएको देखेका भूकम्पपीडितले ढुंगा, माटो, काठको जोडाइले बन्ने घरभन्दा पिल्लरसहितको पक्की घर निर्माण गरिरहेको बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईंले जानकारी दिएका छन् ।

बारपाकको ४ देखि ९ वडाका भूकम्पपीडितले धमाधम घर निर्माण कार्य अघि बढाएका छन् । वडा नं ५ का ४० घरधुरीका भूकम्पपीडित भूकम्प गएदेखि नै विस्थापित भई वडा नं ४ को सार्वजनिक जग्गामा बसे पनि उनीहरूलाई राख्ने जग्गा खोजी गर्न नसकिएको अम्गाईंले बताए । भूकम्पले ध्वस्त भएको बस्तीमा घर बनाएर ढुक्कसँग बस्न सक्ने अवस्था नरहेको विस्थापित भूकम्पपीडित उत्तम बिकले बताए ।

वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे–५ को दलित बस्तीमा घडेरी अभाव हुँदा त्यहाँका भूकम्पपीडितले घर बनाउने जग राख्न पाएका छैनन् । ‘सरकारले घर बनाउन पैसा दिनुपूर्व हामीलाई सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने हो तर, गरेन’ उनले भने, ‘बस्न अयोग्य भनेकै ठाउँमा घर बनाउँदा फेरि अर्को प्रकोपको पीडा खेप्नुपर्ने भयो ।’

बारपाकमा अहिले करिब १ सय ७० वटा घर निर्माणका क्रममा छन् । यी घर पहिलो किस्ता रकम लिएपछि निर्माण सुरु भएका हुन् । भूकम्पले घर भत्केका ७८ जनाले रकम पाएका छैनन । १ हजार २ सय ९४ जनाले पहिलो किस्ता रकम बुझेको सचिव अम्गाईंको भनाइ छ । ‘अनुदान पाउने सूचीमा नाम निस्केका २० जना बारपाकीलाई अनुदान रकम दिन बाँकी छ’, अम्गाईंले भने, ‘विदेशमा रहेका अनुदान लिन आएनन् ।’ २७ जना बेलायती भूतपूर्व सैनिकका परिवारलाई ब्रिटिस वेयलफेयरले घर बनाइदिएको उनको भनाइ छ । बारपाक–४ का जितबहादुर घलेका अनुसार भूकम्पपीडितले धमाधम घर बनाइरहे पनि निर्माण सामग्री ढुवानी गर्दा ज्यादै महँगो परेको छ ।

लाप्राकका समाजसेवी मारर्सिङ गुरुङले भने, ‘लाप्राकमा भूकम्प त बल्ल आएजस्तो पो भएको छ । गुप्सीबाट कुम्लोकाम्लो बोकेर गाउँले अहिले यत्रतत्र डाँडामा बस्न आए ।’ लाप्राकमा ६ सय १४ घरधुरी भूकम्पपीडित छन् । भूकम्प गएको दिनदेखि स्थानीयवासी भूमे सामुदायिक वनको जग्गामा बस्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले गुप्सीको जग्गा घडेरीका रूपमा भोगचलन गर्न पाउने गरी लाप्राकीलाई दिने निर्णय गरिसकेको छ । घडेरी खार्ने काम सुरु भएपछि अब छिट्टै घर, विद्यालय, स्वास्थ्यचौकी, गाविस भवन, खेलकुद मैदानलगायत संरचना निर्माण हुने भन्दै लाप्राकी खुसी छन् ।

श्रीनाथकोट–३ डाँडागाउँमा ८१ ओटा भूकम्प प्रतिरोधी घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकिएको छ । कोरियाको कम्युनिटी चेस्ट अफ कोरिया र बेटर वल्डको आर्थिक सहयोगमा अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति र दलित समुदायका भूकम्पपीडितलाई ४ लाखका दरले लगानी गरी घर निर्माण गरिदिएको अनुग्रहका अध्यक्ष साधुराम नेपालीले बताए । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीका अनुसार भूकम्पले भत्काएका ४ सय ९४ ओटा विद्यालयमध्ये अहिलेसम्म ४ मावि, ४ निमाविसहित २९ ओटा विद्यालय पुनर्निर्माण भएको छ ।

प्रतिक्रिया