जुनारको उत्पादन घटे पनि मूल्य बढेको छ

रामेछाप, ७ पुस । जुनारको जिल्लाको रूपमा परिचित रामेछापमा जुनारमा रोग लागेपछि बगैँचा घट्दै गएको छ । बगैंचा घटेसँगै जुनारको उत्पादनमा कमी आएको छ । तर, केही वर्षदेखि रामेछापको जुनारले बजार भाउ भने राम्रै पाउँदै आएको छ ।

रामेछाप जिल्लामा जुनार खेतीको इतिहास धेरै लामो छैन । रामेछाप जिल्लाको सालु गाविस–३ का शिवलाल अधिकारीले ०१७ सालमा केही जुनारको विरुवा ल्याएर रोपेका थिए । जिल्लामा जुनार खेतीको व्यावसायिक प्रवद्र्धनको श्रेय भने भलुवाजोर गाविसका गेहेन्द्रबहादुर थापा, फुलासीका ललितबहादुर पौडेल र हिलेदेवी गाविसका मोहन तामाङलाई जान्छ ।

यसको मुख्य श्रेय भने तत्कालीन राजा वीरेन्द्रलाई जाने गर्दछ । तत्कालीन राजा वीरेन्द्रले ०४१ सालमा रामेछाप जिल्लाको भ्रमण गर्दा उनको स्वागत सदरमुकाम रामेछाप बजारमा पाकेका फलसहितका जुनारका बोट गाडेर गरिएको थियो । स्वागत गर्ने शैली र बोटसहितको जुनार देखेपछि वीरेन्द्रले कार्यक्रममा नै रामेछाप जिल्लालाई जुनारको जिल्ला घोषणा गरेका थिए ।

रामेछाप जिल्लालाई जुनार क्षेत्र घोषणा गरेपछि जुनार खेती गर्ने कृषकहरूलाई अनुदानमा मल, विरुवा, तथा सस्तो व्याजमा ऋणसमेत सरकारले प्रदान गरेको थियो । त्यसपछि रामेछापमा जुनारको व्यावसायिक खेती सुरु भएको हो । किसानहरूले व्यावसायिक रूपमा ठूलो परिमाणमा जुनार उत्पादन गर्न थाले । रामेछाप जिल्लाका २० वटाभन्दा बढी गाविसहरूमा जुनारको उत्पादन हुने गर्दछ ।

राज्यबाट अनुदान र सहयोग पाएछि किसानहरूले ठूलो परिमाणमा जुनार उत्पादन गरे पनि बजारको प्रबन्ध गर्न नसक्दा किसानहरूले जुनारका बगैँचा नै मासे । सडक सञ्जालमा नजोडिएको कारण रामेछापमा उत्पादन भएको जुनारले लामो समयसम्म बजार पाउन सकेन । त्यसैले किसानहरूले जुनार बगैँचा मास्दै अन्य खेती लगाउन थाले । यो क्रम झन्डै २० वर्षसम्म चलेको किसानहरू बताउँछन् ।

रामेछाप जिल्ला ०६० सालपछि सडक सञ्जालमा जोडियो । खिम्ति जलविद्युत आयोजनाको निर्माणस्थल खिम्तिसम्म काठमाडौंबाट सडक जोडिएपछि सोही बाटोलाई सदरमुकाम मन्थलीसम्म जोडियो । त्यसपछि गाउँगाउँमा कृषि सडकहरू बन्न लागे ।

अझ ३ वर्षअघि बिपीमार्गसँग जोड्ने खुर्कोटको पुल बनेपछि भने रामेछाप जिल्ला काठमाडौं र तराईसँग नजिकियो । त्यसपछि बल्ल रामेछापको जुनारले राम्रो बजार पाउन थाल्यो । ५० पैसा दानामा पनि बिक्री नहुने रामेछापको जुनार अहिले ५० रूपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

रामेछापको ओख्रेनीका कृषक लक्ष्मण तामाङले ६–७ वर्ष अघिसम्म १ रूपैयाँ गोटा जुनार बेच्ने गरेका थिए । तर, अहिले त्यही जुनार ५० रूपैयाँ किलोमा बिक्री हुन्छ । अझ पछिसम्म राख्न सके किलोको १ सय रूपैयाँसम्म पाइन्छ ।

‘पहिला त के भाउ थियो र, बाटो नहुँदा बगैँचामा त्यतिकै कुहाएर फालियो, पछि अलिअलि बिक्री हुन थाल्यो । एकपटक त बगैँचा नै काटेर फाल्नु पर्छकी भन्ने सोच आएको थियो । कतिपयले न बगैँचा काटेर फाले । तर, अहिले त जुनार भाउ आकासी सक्यो नी । अब त बाटो बन्यो, बगैँचामै गाडी आउँछ । हाम्रो जुनार भारत र चीनको खासासम्म पुग्छ । भाउ पनि राम्रै छ,’ उनले भने ।

कृषकहरूले उत्पादन गरेको जुनारले भाउ पाउन लागे पनि रामेछापमा जुनारका बगैँचा भने मासिँदै गएका छन् । जुनारको विरुवामा लाग्ने रुख सुक्ने रोगबाट किसानहरू चिन्तित छन् । यस्तो रोग लागेको जुनारको विरुवालाई बचाउन नसकिने कृषि प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया