काभ्रे, ६ पुस । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले विदेशी भूमिमा श्रमका लागि गएका युवाहरूलाई स्वदेशमै अवसरसहित फर्काउने गृहकार्य भइरहेको बताएका छन् । उनले रेमिट्यान्स भित्रिनुले दीर्घकालीन फाइदा दिन नसक्नेसमेत बताएका छन् ।
मंगलबार काभ्रेको धुलिखेलमा युवा परिषद्को ३ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै उनले रेमिट्यान्सले केही फाइदा भएजस्तो देखे पनि रेमिट्यान्ससँगै आउने लासले देशलाई परेको घाटाको मूल्यांकन गर्नुपर्ने बताएका छन् ।
‘राष्ट्रिय रूपमा आउने युवा कार्यक्रमहरूले कति युवा प्रभावित छन् भन्ने कुरा हामीले समयमा नै मूल्यांकन गर्नुपर्छ । सम्भावना भए पनि राजनीतिक अस्थीरताका कारण देशले भोगीरहेको कष्ट र विदेशी विलासी सामानहरूको निर्यातजस्ता कुराले देशको कसरी उन्नति हुन सक्ला ?’ उनले भने । ‘हामीले प्रयोग गर्ने खादाको सट्टा जहाँ जे पाइन्छ त्यसैले नै स्वागत गर्ने बानी बसालौँ परिवर्तन सानै विषयबाट हुन्छ’ उनले भने । उनले युवालाई देशमा नै उत्पादनमुलक क्षेत्रहरूको खोजी गरी लगाउनु पर्नेमा जोड दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय युवाहरूलाई स्वदेश फर्काउने रोजगार दिने कामको गृहकार्यमा लागेका छौँ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललगायतले युवा परिषद्ले युवाहरूका लागि गर्नसक्ने र सम्भावना रहेका बारेमा चर्चा गरेका थिए । भेला २ दिनसम्म चल्ने युवा परिषद्ले जनाएको छ ।
प्रतिक्रिया