सामुदायिकतिर सर्न थाले विद्यार्थी

डोटी, ६ पुस । मुडभरा–९ खन्याडीकी कौछीदेवी जोराले आफ्ना ३ छोराछोरीलाई पढदै गरेको निजी विद्यालयबाट छुटाएर भवानी आधारभूत विद्यालय खन्याडीमा भर्ना गरिन् । सोही ठाउँकी कमलादेवी भुत्यालले पनि ३ कक्षामा पढ्दै गरेका छोरा कृष्णलाई मयत सामुदायिक विद्यालयमा भर्ना गरिन् ।

कौछी र कमलाले मात्रै होइन, खन्याडीका निजी विद्यालयमा अध्ययन गर्दै आएका २५ बालबालिका निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना भएका छन् । सामुदायिक विद्यालयले विद्यालय सुधार योजनासहित गुणस्तरमा सुधार गर्न थालेपछि निजी विद्यालयका विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय पर्न थालेको हो ।

सामुदायिक विद्यालयमा नियमित पढाइ भए नभएको अनुगमन आफूले नै गर्ने गरेको कमला भुत्यालको भनाइ छ । ‘पहिलाभन्दा अहिले सामुदायिक विद्यालयमा धेरै सुधार भएको छ’ उनले भनिन, ‘थोरै खर्चमा गुणस्तरीय बढाइ हुन थालेपछि मैले आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा सारेको हुँ ।’

विद्यार्थीको बसाइँ व्यवस्थापनसँगै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित गाउँमा भर्ना अभियान सञ्चालन गरेपछि विद्यार्थीहरू निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुन थालेका हुन् । निजी छाडेर विद्यार्थी भर्ना भइरहेको स्थानीय भवानी आधारभूत विद्यालयका प्राधानाध्यापक गणेश कठायतले विद्यालयको शैक्षिकस्तर गुणस्तरीय भएकैले सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको वताए ।

सामुदायिक विद्यालयका शिक्षकले अझ बढी इच्छाशक्ति देखाए झन् गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालय पनि सक्षम हुने डोटीका जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्यालले बताए । ‘सामुदायिक विद्यालयमा तालिम प्राप्त जनशक्ति छ’ शिक्षा अधिकारी पौड्यालले भने, ‘सबै शक्ति परिचालन हुने हो भने सामुदायिक विद्यालयले पनि निजीले जत्तिकै गुणस्तरीय शिक्षा दिन कठिन छैन ।’

डोटीका विभिन्न विद्यालयमा कार्यरत शिक्षकले बाल केन्द्रित सिकाई तालिम प्राप्त गरेका छन् । बालकेन्द्रित शिक्षण विधिसम्बन्धी तालिम पाएपछि पठनपाठनमा सहज भएको शिक्षकहरूले बताए ।

‘हाम्रो जिम्मेवारी पढाउने मात्रै हो भन्ने लागेको थियो’ तालिम प्राप्त शिक्षक हेमा भट्ट शर्माले भनिन, ‘तर तालिम लिएपछि पढाउने मात्र होइन, बुझाउनुपर्ने रहेछ भन्ने थाहा भयो ।’

जिल्लाका ४ गाविस र १ नगरपालिकाका २० विद्यालयमा कार्यरत शिक्षकलाई बालकेन्द्रित शिक्षणका लागि शैक्षिक सामग्री र शिक्षकलाई तालिम प्रदान गरिएको छ । शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयलाई सहयोग गर्दै आएको शिक्षा परियोजनाका संयोजक अधिराज बिसीले बताए ।

प्रतिक्रिया