सिन्धुपाल्चोक, ६ पुस । भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोकका विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा जिल्लाका विकट मानिने ६ गाविसका १६ विद्यालय निर्माणाधीन छन् भने २ वर्षभित्र ३१ विद्यालय निर्माण हुने जनाइएको छ ।
जिल्लाको विकट तथा केही नजिकका गाविसमा कारितास स्विटजरल्यान्डको सहयोग र टुकी संघ सुनकोसी तथा महिला आत्मनिर्भरताको समन्वयमा ५ वटा विद्यालय पुनर्निर्माण भइसकेको छ भने बाँकी निर्माण प्रक्रियामा छन् ।
२०१८ सम्ममा जम्मा ३१ विद्यालय बनाउने उद्देश्य रहेको कारितास स्विटजरल्यान्डका राष्ट्रिय निर्देशक बन्र्ड सेफरले जानकारी दिए । विद्यालय निर्माणको कार्यमा सक्रिय रहेको बताउँदै सेफरले विभिन्न संघसंस्थाको समन्वयमा जिल्लाको हेलम्बु, दुवाचौर, इचोकलगायत ७ गाविसमा ५ वटा सामुदायिक विद्यालय निर्माण गरिसकेको जानकारी दिए ।
निर्माण कार्य सम्पन्न भएका ५ विद्यालय र निर्माणको चरणमा रहेको १० विद्यालय गरी जम्मा ३१ विद्यालय निर्माण गर्ने लक्ष्य रहेको सेफरले बताए । डेढदेखि ५ करोडको लगानीमा कारितास स्विटजरल्यान्ड, महिला आत्मनिर्भरता केन्द्र र टुकी संघ सुनकोसीको समन्वयमा भूकम्प प्रतिरोधी तथा बालमैत्री र अपांगमैत्री भवनसमेत निर्माण गरिएको कारितासले जनाएको छ ।
भूकम्पपछि लगत्तै कारितास स्विटजरल्यान्ड, टुकी संघ सुनकोसीलगायत संघसंस्थाले जिल्लाको विभिन्न क्षेत्रमा पक्की भवन बनाएर सहयोग गर्दै आइरहेको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताए । भवन सँगसँगै हेल्भेटास नेपाललेको सहयोगमा विद्यालयमा खानेपानीको सुविधासमेत दिएको छ । विद्यालय नजिकका सबै स्थानीयलाईसमेत खानेपानीको सुविधा उपलब्ध गराएको हेल्भेटासले ट्यांकी निर्माण गरेर खानेपानीको सुविधा थपिदिएको हो ।
विद्यालयका बालबालिका उपस्थिति दर बढाउन, विद्यार्थी प्रोत्साहान गर्न, अभिभावक शिक्षा, छात्रवृत्ति, शिक्षक तालिम, बालमैत्री विद्यालय तालिमलगायत विभिन्न कार्याक्रम सञ्चालन गरिरहेको टुकी संघ सुनकोसीका कार्याक्रम संयोजक निराजन चौलागाईंले बताए ।
सिन्धुपाल्चोक जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि आधारभूत विद्यालय ४ सय ११ माध्यमिक विद्यालय १ सय ३१ गरी जम्मा ५ सय ४२ विद्यालय रहेका छन् । विभिन्न संघसंस्थाको सहयोगमा जिल्लामा जम्मा १ हजार ८ सय २७ कक्षाकोठा बन्न लागेका छन् । जसमध्ये ४ सय १० वटा कक्षा कोठा निर्माणाधीन रहेको र बाँकी ७ सय ७० कक्षाकोठा बन्ने तयारी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
शिक्षा कार्यालयका अनुसार अहिले ८ हजार २ सय ३२ कक्षाकोठा निर्माणको लागि आवश्यक देखिएको छ । आधारभूत कक्षा सञ्चालनको लागि ४ हजार १२, र माध्यमिक तहको लागि ४ हजार २ सय २० कक्षाकोठा निर्माण हुनुपर्ने शिक्षा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया