तुवाँलोमा शिक्षा

खोटाङका शैक्षिक संस्थाहरु अनियमितताको तुवालोमा निस्सासिएको छ । शिक्षा कार्यालयले गरेको छड्के अनुगमनका क्रममा जिल्लास्थित शैक्षिक संस्थाहरु अनियमितताको तुवालोमा निस्सासिएको पुष्टि भएको हो ।

शिक्षा अधिकारी ज्ञानमणि नेपालका अनुसार विद्यालय अनुगमनमा निर्मलीडाँडा–१ स्थित पेलुङ प्राविका प्रअ कृष्णबहादुर केसीले विद्यार्थी संख्या बढाएर पाठ्यपुस्तक, छात्रबृत्ति, शैक्षिक सामग्री लगायतको रकम अनियमितता गरेको पाइएको छ । केसीले उक्त विद्यालयमा भएका १२ वास्तविक विद्यार्थीबाट ४३ जना नक्कली विद्यार्थी बनाएर अनियमितता गरेका हुन् । अनियमितता गरेको खुलासा भएपछि कारबाहीको डरले प्रअ केसीले मङ्सिर १३ गते राजीनामा समेत दिएका छन् । राजीनामा दिनासाथ स्वीकृत गरिएको शिक्षा अधिकारी नेपालले सुनाए । १२ वास्तविक विद्यार्थीलाई ४३ बनाएर प्रमाणित गर्ने श्रोतव्यक्ति पञ्चकुमार राईलाई स्पष्टीकरण सोधिएको शिक्षा अधिकारी नेपालले जनाए । ‘अनुगमनमा प्रअ केसीले ३१ नक्कली विद्यार्थी बनाएर विभिन्न शीर्षकको रकम निकासा गरेको पाइयो ।’ शिक्षा अधिकारी नेपालले भने, ‘त्यसको डरले राजीनामा लेखेपछि स्वीकृत गरिदिए ।’ शिक्षा अधिकारी नेपालले थपे,‘नक्कली विद्यार्थीलाई प्रमाणित गर्ने श्रोतव्यक्ति पञ्चकुमार राईलाई पनि स्पष्टीकरण सोधिएको छ ।’

अनुगमनमा निर्मलीडाँडास्थित साप्सु जयपति एकेडेमी इङ्लिस बोर्डिङ स्कुललाई शाखा भनेर परीक्षा लिने सदरमुकामस्थित दिक्तेल इङ्लिस् बोर्डिङ स्कुललाई पनि स्पष्टीकरण सोधिएको शिक्षा अधिकारी नेपालले बताए । ‘शिक्षा ऐनमा शाखा सञ्चालन गर्ने व्यवस्था नभएकाले स्पष्टीकरण सोधिएको छ ।’ शिक्षा अधिकारी नेपालले भने,‘कुन ऐन अन्तरगत शाखा सञ्चालन गरेर परीक्षा लिइएको हो ? भनेर स्पष्टीकरण

सोधिएको छ, मनासिव जवाफ नआएर कानुनअनुसार कारबाही हुन्छ ।’ उक्त साप्सु जयपति एकेडेमी इङ्लिस बोर्डिङ स्कुल खोल्ने निर्मलीडाँडा–३ स्थित महेन्द्रोदय आधारभूत विद्यालयका प्रअ सखरमान केसीलाई समेत स्पष्टीकरण सोधिएको छ । ‘शिक्षा ऐन विपरित विद्यालयका प्रअले बोर्डिङमा लगानी गरेर सञ्चालन गरेको पाइयो ।’ शिक्षा अधिकारी नेपालले भने, ‘त्यसका आधारमा प्रअलाई स्पष्टीकरण सोधिएको छ । विद्यालय निरीक्षण नगर्ने विभिन्न श्रोत व्यक्तिहरूलाई पनि स्पष्टीकरण सोधिएको छ । लक्ष्मी मावि काहुले श्रोत केन्द्रका श्रोतव्यक्ति नारायण पाण्डे, सरस्वती मावि अर्खौले केन्द्रका श्रोत व्यक्ति फुलेश्वर यादव, विद्योदय मावि दोपाचिउरीडाँडा श्रोत केन्द्रका श्रोत व्यक्ति पञ्चकुमार राई, सरस्वती मावि दिक्तेल श्रोत केन्द्रका श्रोतव्यक्ति झनकबहादुर थापा लगायतलाई पनि विद्यालय निरीक्षण नगरेको भन्दै स्पष्टीकरण सोधिएको शिक्षा अधिकारी नेपालले बताए ।

यसबाहेक मादक पदार्थ सेवन गर्ने, विद्यालयमा अनुपस्थित, पुरै घण्टीसम्म कक्षामा नबस्नेलगायतका शिक्षकहरूलाई धमाधम कारबाहीको दायरामा ल्याउन थालिएको छ । अगनुमनको क्रममा अर्खौलेस्थित सरस्वती माविका प्रअ डिकसेर राईले रक्सी आएर विद्यालय आएपछि राजीनामा गराइएको छ । जिल्ला शिक्षा कार्यालय खोटाङले मङ्सिर ९ गते गरेको छड्के अनुगमनमा राईले रक्सी खाएर विद्यालय आएको फेला परेपछि राजीनामा गराइएको हो । शिक्षा अधिकारी ज्ञानमणि नेपालको नेतृत्वमा जिल्लास्थित विद्यार्थी संघ÷संगठनहरू, पत्रकार लगायतको अनुगमन टोलीले प्रअ रक्सी खाएको अवस्थामा फेला पारेपछि तत्काल राजीनामा गर्न लगाइएको थियो । आगामी दिनमा पनि रक्सी खाएर विद्यालय आए राजीनामा स्वीकृत गरिने शिक्षा अधिकारी नेपालले सुनाए । ‘छड्के जाँचमा पुग्दा प्रअले नै मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको पाइयो ।’ शिक्षा अधिकारी नेपालले भने, ‘प्रअले नै मापसे गरेर आएपछि विद्यालयको अनुशासनको हालत कस्तो होला, त्यही भएर राजीनामा मागिएको हो ।’ शिक्षा अधिकारी नेपालले थपे, ‘फेरि गल्ती दोहोरियो भने राजीनामा स्वीकृत हुन्छ ।’

त्यस्तै अनुगमनका क्रममा गत ६ मंसिर पनि नेर्पा–८ रामपुरस्थित जनता आधारभूत विद्यालयका शिक्षक लक्ष्मीप्रसाद राई र ३० कार्तिक दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक मिनबहादुर खत्रीलाई पनि राजीनामा गराइएको थियो । गल्ती दोहो¥याए दुवै शिक्षकको राजीनामा स्वीकृत गर्ने जिशिअ नेपालले बताए । अभियानले जिल्लाभरका शैक्षिक संस्थाहरूमा तरंग छाएको छ । मुलुककै शैक्षिक अवस्था कमजोर ठहरिएको खोटाङमा शिक्षा अधिकारी नेपाल आउनासाथ विद्यालय सुधारको अभियान थालिएको हो । यो अभियानमा शिक्षक तथा श्रोत व्यक्तिहरू कारबाहीको दायरामा आएपछि नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिले शिक्षाअधिकारी समक्ष डेलिगेसन गएको स्रोतले जनाएको छ । डेलिगेसनका क्रममा शैक्षिक क्ष्ँेत्रमा अनियमित गर्ने शिक्षकहरूलाई कारबाही नगर्न दबाब नदिए पनि घुमाउरो पाराले सकारात्मक प्रक्रियाबाट जान शिक्षा अधिकारीलाई सुझाव दिएको स्रोतले जनाएको छ । यसले जिल्लाको शैक्षिक गुणस्तर बृद्धिको बाधक तिनै शिक्षक भएको थप पुष्टि गरेको छ । शैक्षिक गुणस्तरका लागि अभियान्ताप्रतिको बक्र दृष्टिकोणप्रति आम जनमानसमा यसको हेक्का रहन जरुरी छ । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका जिल्ला सचिव टंक कटवालले भने शिक्षकलाई कारबाही गरेर मात्र शैक्षिक गुणस्तर सुधार नआउने र कमजोरी गर्ने शिक्षकहरूलाई प्रक्रिया अनुसार कारबाही गर्न सुझाव दिएको बताए ।

शिक्षा अधिकारी नेपालले अनुगमनलाई नियमित बनाउने र त्यस क्रममा शिक्षकले पढाए÷पढाएनन् भनेर विद्यार्थीलाई परीक्षा समेत लिने बताए । ‘अहिले बाहिरी रूपमा अनुगमन थालिएको छ, अझ गहिरिएर अनुगमन गर्नु पर्ने देखिएको छ ।’ शिक्षा अधिकारी नेपालले भने, ‘शिक्षकहरूले पढाए÷पढाएनन् भन्ने चाहि छड्के अनुगमनमा जाँदा विद्यार्थीहरूलाई परीक्षा लिएपछि थाहा हुन्छ ।’ शिक्षा अधिकारी नेपालले थपे, ‘परीक्षा लिदा कमजोर देखिए कारबाही गर्छु ।’ शिक्षा अधिकारी नेपालले कहाँ, कहिले अनुगमन हुँदैछ भन्ने कसैलाई पनि जानकारी नदिने बताए ।

यसबाहेक शिक्षा कार्यालयकै प्राविधिक शिव राईले काम नसकि फरफारकका लागि सिफारिस गरेकाले उनलाई पनि स्पष्टीकरण सोधिएको शिक्षा अधिकारी नेपालले सुनाए । जिल्लामा शैक्षिक अवस्था कमजोर हुनुमा राजनीतिक दल तथा शिक्षकहरुकै कारण भन्ने पहिचान भएपछि अभियान सुरु भएको हो । शिक्षा अधिकारी नेपालले जिल्लास्थित शिक्षकहरुको पेशागत संघ–संगठन तथा राजनीतिक दलका जिल्लास्थित शीर्ष नेताहरूसँगको छलफलपछि गुणस्तरीय शिक्षाका लागि विभिन्न प्रतिबद्धता समेत गराएका छन् ।

जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूसँग २९ कात्तिक भएको बैठकले विद्यालयलाई शान्तिक्षेत्र कार्यान्वयन गर्न विद्यालय र विद्यार्थीहरूलाई राजनीतिक प्रकृतिका बन्द, हडताल, जुलुसजस्ता आन्दोलनहरूमा सहभागी नगराउने तथा विद्यालयलाई कुनै पनि राजनीतिक आन्दोलनबाट प्रभावित नगर्ने, शिक्षक र विद्यालयहरूलाई दलीय राजनीतिको प्रत्यक्ष प्रभावबाट टाढा राख्ने, शिक्षासम्वन्धी ऐन, नियमावलीलगायतका सम्पूर्ण कानुनहरू, निर्देशिका र निर्देशनहरूको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा विद्यालयको शैक्षिक अवस्था र विद्यार्थीको सिकाइ सुधार ल्याउन विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको कार्ययोजनासहितको प्रतिबद्धता गराउने निर्णय गरिएको छ ।

यसबाहेक जिल्लाको शैक्षिक अवस्था सुधारका लागि पहिलो चरणमा कार्यालयका कर्मचारी तथा श्रोत व्यक्तिहरूको नियमितता र कर्तब्यनिष्ठतामा सुधार ल्याउने समेत प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ । जिल्लास्थित शिक्षकहरूको पेशागत संघ–संगठनमा आबद्ध शिक्षकहरूले समेत साझा प्रतिबद्धता जनाएका छन् । कात्तिक २६ गते जिल्ला शिक्षा कार्यालयमा भएको बैठकमा प्रतिबद्धता जनाएका हुन् । बैठकले शिक्षक र विद्यालयलाई दलीय राजनीति भन्दा टाढा राख्दै विद्यालयहरूको प्रभावकारी अनुगमनलाई व्यवस्थित गर्न तथा विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि वास्तविक अवस्था पहिचान गरी सोही आधारमा सुधारका प्रयत्न गर्ने निर्णय भएको थियो । जिल्लाको समग्र शैक्षिक उन्नतिका लागि सरोकारवाला सम्पूर्ण पक्षको सक्रिय सहभागिता र सहयोगका लागि क्रियाशील रहने, जिल्लाको शैक्षिक उन्नतिका लागि विद्यालय, शिक्षक, प्रअ, अभिभावक, पेशागत संघसंगठनका तर्फबाट शिक्षासम्वन्धी ऐन÷कानुन तथा नीति निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि सबैजना लागि पर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया