नक्कली नोट बनाउने युवा पक्राउ

लमजुङ, ३ पुस । एकहजार र ५ सयका नक्कली नोटसहित बेसीसहर नगरपालिका–४ गैरीका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनको साथबाट प्रिन्टरसहित नोट छाप्न प्रयोग हुने सामग्रीसमेत बरामद भएको छ ।

पुल्चोक इञ्जिनियरिङ कलेजबाट बिई उत्र्तिण गरेका श्रेष्ठले घरमै नक्कली नोट बनाउने गरेको खुलेको छ । घरमा बनाएको रकम लिएर उनी पाँचौ लमजुङ महोत्सवमा पुगेका थिए । सुरूमा त टिकट काउन्टरमा भएकाले थाहा पाएनन् । तर, बैंकमा जम्मा गर्ने बेला नक्कली भएको खुलेपछि सतर्कता अपनाइएको थियो ।

नक्कली नोटलाई चलाउन पल्किएका राजकुमार फेरि महोत्सवमा पुगे । काउन्टर टिकटको लागि पैसा दिँदा साथ उनलाई शंका गरिहाले र उनलाई अरू रकम पनि देखाउनभन्दा मानेनन् । लगत्तै प्रहरीलाई खबर गरेर बुझाएपछि उनले चलाउने नोट नक्कली भएको खुलासा भएको महोत्सव व्यवस्थापन समितिका संयोजक कृष्णकुमार प्रधानले बताए ।

पक्राउ लगत्तै प्रहरीले श्रेष्ठको घरमा छापा मार्दा उनले घरमै नक्कली नोट छाप्ने गरेको रहेछन् भन्ने खुल्यो । लमजुङ प्रहरी प्रमुख समिरचन्द्र खरेलका अनुसार श्रेष्ठले घरबाट स्क्यान मेसिन, प्रिन्टर, कम्प्युटर र नक्कली नोट बनाउने सफ्टवेयरहरु, सरकारी कार्यालयका छापहरु, लालपुर्जा, सवारी चालक अनुमतिपत्रलगायतका सामग्री बरामद गरेको छ ।

श्रेष्ठले प्रहरीसँग आफूले गएको ४ महिनादेखि नक्कली नोट बनाउन सुरु गरेको स्वीकार गरेका छन् । उनको घरको एउटा बन्द कोठाबाट २५ थान तयारी एकहजारको नोट, १४ थान प्रिन्ट गरेको हजारको नक्कली नोट, ३ थान पाँच सयको नोट लगायतका विभिन्न नक्कली नोट बरामद भएको छ ।

शनिबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी प्रहरीले श्रेष्ठलाई खोटा चलन, सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा मुद्दा चलाइने बताएको छ ।

प्रतिक्रिया