गाउँमा मलामी पाउन गाह्रो

जाजरकोट, ३ पुस । गाउँका युवाहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुक, भारतलगायतका देशमा जान थालेपछि यहाँको गाउँ नै खाली हुँदै गएको छ ।

युवा रोजगारीका लागि गएपछि जाजरकोटका दूरदराजका गाउँ पुरुषविहीन अवस्थामा पुगेको हो । मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए ।

गाउँमा विद्यालय उमेरका बालबालिका र वृद्ध मात्र भेटिने गरेको उनको भनाइ छ । विकास निर्माणका काममा समेत युवा पुरुष नहुँदा महिला तथा विद्यालय उमेरका बालबालिका जुट्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ ।

गाउँमा भएका केही मानिस सहर, बजार अनि सडकको नजिक सरिसकेका छन् । अहिले गाउँमा मानिसविहीन बन्दै जाने खतरा बढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले बताइन ।

विवाहमा जन्ती जाने र मान्छे मर्दा मलामी जाने पुरुष नहुँदा अहिले सबै काम महिलाले गर्दैआएको खत्रीको भनाइ छ । ‘हाम्रो गाउँमा जन्ती, मलामी महिलालाई नपठाउने चलन थियो, अहिले पुरुष नै नभएपछि महिलाले त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन्’ खत्रीले भने ।

घरको काम बालबालिका र वृद्धले गर्दा विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीको संख्या ठूलो रहेको रग्दाका कमल ध्यारले बताए । स्थानीय सबै कार्यमा बालबालिका नै सहभागिता जनाउँछन्, यसले गर्दा पढाइमा समस्या आउने गरेको ध्यारको भनाइ छ । घरव्यवहारदेखि गाउँमा पर्ने सबै काम विद्यालय उमेरका बालबालिका र वृद्धको जिम्मामा रहेको पाइएको छ । अहिले जिल्ला प्रशासन र गाविसमा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्या ठूलो रहेको छ ।

प्रतिक्रिया