गुल्मी तनावग्रस्त, सांसदसहित दुई दर्जन घाइते

गुल्मी, २ पुस । प्रहरी र बन्दकर्ताबीच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले खोल्न खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित २ दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ ।

स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले करिब २ दर्जन अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित आन्दोलनकारीले २ वटा सवारी साधनमा आगजनीसमेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो ।

शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावललाई सरुवा गर्न माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले १ हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् ।

एमालेका नेता एवं गुल्मीका सांसद गोकर्ण विष्ट पनि शुक्रबारै जिल्ला सदरमुकाम आइपुगेका छन् । ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको शुक्रबार १७औँ दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन् । उनीहरूले बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया