कोरला जोडने सडक विस्तार हुने

पर्वत, १ पुस । म्याग्दी सदरमुकाम बेनीदेखि जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडक बिस्तार हुने भएको छ । साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भइरहे पनि सडकको स्तरोन्नतिको काम सुरु गर्ने तयारी भएको बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

कउनका अनुसार बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो गरी कालोपत्रे गर्ने र १ सय १० किमिको जोमसोम–कोरला सडक दुई खण्डमा बाँडेर स्तरोन्नति गर्ने निश्चित भएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजना छ ।

बेनी–जोमसोम खण्ड कालोपत्रेका लागि केही दिनमै टेन्डर आह्वान गर्ने आयोजना रहेको प्रमुख सुवेदीले जानकारी दिए । ३ वर्षभित्र काम सक्ने लक्ष्यका साथ ४ वटा ठेकेदारमार्फत काम गर्ने योजना रहेको र अहिले लागतको ‘भेरिफिकेसन’ भइरहेको उनले बताए । ‘बेनी–जोमसोम खण्डमा ९ वटा पक्की पुल बन्नेछन् । तीमध्ये २ वटा पुल बनिरहेका छन् । बाँकी ७ वटा पनि मोटरेबल पक्की पुल बनाइनेछ’ उनले भने । यो सडक खण्ड कालोपत्रे गर्न करिब ३ अर्ब ८८ करोड रूपैयाँको लागत स्वीकृति अर्थ मन्त्रालयले दिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नति गर्न करिब साढे ३ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया