कपिलवस्तु, १ पुस । जिल्लाको शिवराज नगरपालिका–१३, जवाभारीस्थित महालक्ष्मी सुगर मिलले मंसिरको अन्त्य हुनै लाग्दा उखुको क्रसिङ सुरु गरेको छ ।
मिलमा यतिबेला धमाधम उखु आयात हुन थालेको छ । दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेको सो मिलले नेपालको उत्पादनले मात्र मिल चलाउन नसक्दा भारतीय उखुमा निर्भर हुनुपरेको मिलका प्रबन्धक हरिनारायण चौधरीले बताए ।
‘क्रसिङ क्षमता अनुसार कच्चा पदार्थ नहुँदा अहिले मिलले दैनिक १८ हजार क्विन्टलसम्म क्रसिङ गर्दै आएको छ,’ उनले भने । गत वर्ष मधेस आन्दोलन र नाकाबन्दीको चपेटामा परी २ महिना मात्र सञ्चालन भएको सो मिलले यस वर्ष मंसिर २७ गतेबाट क्रसिङ सुरु गरेको हो ।
कच्चा पदार्थको अभावमा गतवर्ष पुस ११ गतेबाट सञ्चालन भएको सो मिल फागुन १० गते बन्द हुन पुगेको थियो । उखु क्रसिङ भएसँगै अहिले मिलमा भारतीय र नेपाली उखु आयात हुन थालेको छ । मिल सञ्चालनमा आएसँगै किसानले उखु काट्न सुरु गरेका छन् । यहाँ करिब ७ सय मजदुरले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।
तर, किसानले अघिल्ला २ वर्षको २ करोड ५० लाख भुक्तानी नपाएको गुनासो गरेका छन् । सरकारले यसवर्षको उखुको मूल्य समयमै निर्धारण नगर्दा किसान चिन्तित बनेका छन् । तर, उक्त मिलले मनोमानी ढंगले नेपाली उखुको प्रतिक्विन्टल ४ सय ९२ मूल्य कायम गरेको छ । सो मूल्य निर्धारणप्रति कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले असहमति व्यक्त गरेका छन् । उखु उत्पादक संघ तथा चिनी उत्पादक संघले कायम गरेको मूल्य अनुसार भुक्तानी पाउनुपर्ने उनको माग छ ।
मिलले भारतीय उखुलाई भने प्रतिक्विन्टल ५ सय १२ का दरले भुक्तानी दिँदै आएको छ । सरकारले किसानलाई प्रतिक्विन्टल उखुमा २५ अनुदान दिने घोषणा गरे पनि उक्त मिलले भुक्तानी गर्न सकेको छैन ।
प्रतिक्रिया