शौचालय निर्माणका लागि सडक नाटक

मेलम्ची, १ पुस । फोहोरका कारण बढ्दो प्रदूषण न्यूनीकरण र शौचालय निर्माणका लागि सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा सरसफाइका लागि सडक नाटक सुरु गरिएको छ ।

सन् २०१७ सम्ममा सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने योजना भए पनि ०७२ सालको शक्तिशाली भूकम्पले अभियान बिथोलिएको थियो ।

अहिले जिल्लाका विभिन्न गाविसमा सरकारी तथा गैरसरकारी संस्थाकोे सक्रियतामा पुनः खुला दिसामुक्त घोषणाका लागि शौचालय निर्माण अभियान सुरु गरिएको छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा भूकम्पपश्चात मानिसको एकीकृत बसोबास गरे पनि सरसफाइमा ध्यान नदिएका कारण विभिन्न रोगबाट संक्रमण हुन थालेपछि अभियानलाई छिटो अगाडि बढाउन लागिएको हो ।

सरसफाइमा ध्यान नदिँदा र चर्पीको प्रयोग नगर्दा फोेहोरबाट लाग्ने विभिन्न किसिमका सरुवा रोगको असर सबैभन्दा बढी बालबालिका र विद्यार्थीमाथि पर्न गएको एक अध्ययनले देखाएको छ ।

ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा बढ्दो रोग न्यूनीकरण गर्न विद्यार्थी एवं अभिभावकलाई सरसफाइसम्बन्धी सचेतनाको उक्त नाटक कार्यक्रम आयोजना गरिएको हो ।

खानेपानी तथा सरसफाइ प्रवद्र्धन कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक सहयोगमा आवाज आर्ट क्रिएसनले विभिन्न गाउँमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिरहेको छ ।

घर नभएर जस्ताको चिसोमा बस्नुपरेको अवस्थामा सिधै शौचालय निर्माण गरभन्दा नकारात्मक प्रतिक्रिया आउने हुँदा त्यही विषयलाई नाटकमार्फत व्यक्त गर्दा प्रभावकारिता हुने भएकाले सडक नाटक प्रदर्शन गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक राजु विश्वकर्माले जानकारी दिए ।

पहिलो चरणको नाटक प्रदर्शन जिल्लाका बाह्रविसे, पांग्रेटार, राम्चे, चोकटी, कालिका, सुनखानी, तातोपानीमासमेत गरिने विश्वकर्माले जानकारी दिए ।

नाटकमा आवाज आर्टका धिताल चिरिच्याट्ट, नवराज गजुरेल, रोहित कार्की, देवी आले, सरस्वती अधिकारी, ईश्वरी अधिकारी, मीरा गुरुङलगायत कलाकारले अभिनय गर्नेछन् । नाटकको लेखन तथा निर्देशन नवराज गजुरेलले गरेका छन् ।

प्रतिक्रिया