पढाइ पनि छैन पूरोहित छैन

म्याग्दी, २७ मंसिर । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पूरोहितको अभाव हुन थालेको छ । पूरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणले पनि संस्कृत पढ्न छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि (पूूरेत) ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । वेद, उपनिषद्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पूरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–४ का भीमबहादुर कार्कीले बाताए ।

‘हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो’, कार्कीले भने, ‘संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारन, विवाह र मृत्यु संस्कारजस्ता नगरिनहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।’ संस्कृत शिक्षा हिन्दूहरूको जीवन पद्दद्धिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेसा अझै हुन नसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुन सक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायणदत्त सुवेदीले बाताए ।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव सुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको संख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरू पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया