चितवन, २३ मंसिर । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ ।’
संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले भने, ‘प्रस्ताव पारित हुन्छ । नागरिकता, भाषा, सीमा, राष्ट्रियसभालगायत विषयमा संशोधन आवश्यक भएकाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको हो ।’ प्रस्ताव संसद्मा पेस भएपछि विशेष समितिमार्फत छलफल अगाडि बढाइने र परिमार्जन गरेरै भए पनि संशोधन प्रस्ताव पारित गराइने उनले स्पष्ट पारे । संशोधन प्रस्ताव राष्ट्रघाती छ भन्ने आरोपको खण्डन गर्दै मन्त्री निधीले भने, ‘केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले प्रस्ताव गर्दा राष्ट्रघाती हुने ? यो एमालेको राजनीतिक बेइमानी हो ।’
एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेलामा पहाडी जिल्ला ४ नम्बर र ६ नम्बर प्रदेशमा तथा तराईका जिल्ला ५ नम्बर प्रदेशमा राख्ने टुंगो लगाइएको उनले बताए । उपप्रधानमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध हटाएर संविधान संशोधन प्रक्रिया अगाडि बढ्न दिनुपर्नेमा जोड दिँदै संविधान संशोधन प्रक्रिया छिटो अगाडि बढोस् भन्ने आफूहरूले चाहेको बताए । ‘एमालेले संसद् अवरोध हटाएर संसदीय प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ,’ उनले भने, ‘पुरानै इलाकाको आधारमा वा पुरानै गाविसलाई गाउँपालिकामा रूपान्तरण गरेर स्थानीय निकायको चुनावमा जाने तयारीमा सरकार रहेको छ ।’
प्रतिक्रिया