अनसनमा रहेका तिवारीको समर्थनमा प्रदर्शन

सप्तरी, २२ मंसिर । अस्पताल सुधारको माग गर्दै आमरण अनसनमा रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थीहरूले मंगलबार बिहान राजविराजमा प्रदर्शन गरेका छन् ।

१४ दिनदेखि अनसन बस्दै आएका तिवारीको माग सम्बोधन गर्न सम्बन्धित निकायले आनाकानी गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

स्थानीय शिव मन्दिर प्रांगणबाट निकालिएको विद्यार्थीहरूको जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । उनीहरूले तिवारीको तत्काल माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । अस्पताल सुधारको माग गर्दै तिवारीले थालेको अनसन मंगलबार १४ दिन पूरा भएको छ । उनी गत मंसिर ८ गतेदेखि अनसनमा बसेका हुन् ।

अस्पतालमा देखिएका बेथितिहरूलाई सुधार्नुपर्ने, चिकित्सकहरूको दरबन्दी कायम गर्नुपर्नेसहितका विभिन्न माग राख्दै उनी भोकहड्तालमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

उनको मागबारे वार्ता गर्न पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशनलाय धनकुटाका प्रमुख डा.महेश खनालको नेतृत्वमा आएको टोलीले कुरा गरे पनि तिवारीले स्वास्थ्यमन्त्री नआएसम्म अनसन जारी रहने भन्दै वार्ता गर्न अस्वीकार गरेका छन् ।

इमेरजेन्सी र बहिरंग चिकित्साका लागि उपलब्ध हुने औषधिहरूको लिष्ट उपलब्ध गराउनुपर्ने, सुत्केरी, गर्भवतीका लागि पोषण, खानासम्बन्धी, लुगा इत्यादी प्रसूतिसम्बन्धी आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजनसम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराइने खानाको विवरण र सोको ठेक्का बन्दोबस्ती विवरण उपलब्ध गराउनुपर्ने, जिन्सी खाता अनुसारको सम्पूर्ण खर्च भएर जाने र खर्च भएर नजाने विवरण उपलब्ध गराउनुपर्ने माग तिवारीले राखेका छन् ।

यसैबीच अस्पतालका सरसफाई कर्मचारीहरूले पनि छुट्टै आन्दोलन सुरु गरेका छन् । उनीहरूले ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्नेसहितका ५ बुँदे माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।

प्रतिक्रिया