पोखरा, २२ मंसिर । बेलाबेला जमिन भासिने गरेको पोखरामा मंगलबार एकाबिहानै पिच सडकमै भ्वाङ पर्दा गुडिरहेको बस भ्वाङमा परेको छ । पोखरा–बाटुलेचौरको चमेरेगुफा जाने बाटोको पिच सडक भासिदा यात्रुबस सो भ्वाङमा परेको हो ।
चमेरेगुफाबाट लामाचौरतर्फ आउँदै गरेको पोखरा बस व्यवसायी समितिको ग १ ख ७०३३ नम्बरको बस बिहान ५ बजे भ्वाङमा परेको स्थानीय सुवास अधिकारीले जानकारी दिए । गुडिरहेका बेला एक्कासी भ्वाङ पर्दा बस भ्वाङमा परेको उनले बताए ।
चमेरेगुफा बस स्ट्यान्डबाट बस गुडेको १ मिनेट पनि नबित्दै बस भ्वाङमा परेको पोखरा बस ब्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले बताए । भ्वाङमा परेको बस क्रेनको सहायताले निकालिएको छ । करिब साढे २ घन्टापछि निकालिएको सो बसमा सामान्य क्षति पुगेको सचिव तिमिल्सिनाले जानकारी दिए । बस एक्कासी भासिएपछि आफू एकछिन त्रसित बनेको बसका चालक सबोजित रेग्मीले बताए ।
खानेपानीको पाइप फुटेको कारण पानी लिक भएर जमेको ठाउँमा भ्वाङ परेको नेपाल खानेपानी संस्थान पोखराका प्राविधिक तथा विन्ध्यवासिनी खानेपानी इकाइका प्रमुख दिनेश्वरप्रसाद यादवले बताए । कालीखोलाबाट ल्याइएको पानीको पाइप फुटेको उनको भनाइ छ । यस घटनापछि आफूहरू थप सचेत भई पाइपबाट पानी चुहिन नदिने प्रयासमा जुट्ने उनले बताए । साथै उनले कसैले पाइप लिक भएको देखेमा खबर गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
भासिएको क्षेत्रमा मर्मतका लागि पुगेका खानेपानीका एक कर्मचारी बाबुराम विश्वकर्माले आधा इञ्चको पाइप फुटेकाले पानी चुहिएको र सोही कारण पानी जमेर जमिन भासिएको हुनसक्ने बताए ।
प्रतिक्रिया