पर्यटकको सहयोगमा विद्यालय

काठमाडौं, २१ मंसिर । बाह्य पर्यटकको सहयोगमा भूकम्पले भत्काएको सिन्धुपाल्चोक जिल्ला बतासे गाविसस्थित सेतीदेवी निमाविको भवन बनेको छ ।

विद्यालयमा हाल १ सय ८६ विद्यार्थी अध्ययनरत छन् । हिमालय पिस एजुकेसन फाउन्डेसनमार्फत २६ लाखको लागतमा ९ कोठे ३ भवन र ४ शौचालय निर्माण गरिएको संस्थाका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

नेपाल घुम्न आउने फ्रान्सेलीको संस्था हिमाल पिरामिस, क्लब अल्पाइन डी स्ट्रासवर्ग, स्विट्जरल्यान्डका कास्पर डिउरिङ र साथीहरू, अमेरिकाका मार्क फिस्टर र रिच काल्र्सन, लातभियाका इन्ट्स मर्निक्स र साथीहरू एवं अस्ट्रियाका स्टेफेन केक तथा एसओएस नेपालसहित पर्यटकले विद्यालय निर्माण गर्न रकम पठाएको फाउन्डेसनका महासचिव डवीन्द्र लामाले बताए ।

नवनिर्मित सो भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । फाउन्डेसनले गोर्खाको चुम्चेत गाविसमा एसओएस नेपालको सहयोगमा सिप्चेत प्राविको पाँचकोठे भवन पनि बनाएको छ । त्यस्तै नेपाली सोसाइटी अफ बसेल स्विट्जरल्यान्डको सहयोगमा नुवाकोट, थानापति गाविसमा थानापति प्राविको चारकोठे भवन पनि बनाइएको तर विद्यालयलाई हस्तान्तरण गर्न भने बाँकी नै छ ।

सो संस्थाले नुवाकोट, गोरखा र सिन्धुपाल्चोकका भूकम्पले भत्काएका ६ विद्यालय बनाइसकेको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया