छाउपडी अन्त्यका लागि सज्जाल गठन

बैतडी, २० मंसिर । छाउपडी अन्त्यका लागि बैतडी जिल्लामा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको छ । महिला हिंसाको अर्को रूप मानिने छाउपडी कुप्रथा अहिले पनि समाजमा व्याप्त रहेकाले यसको अन्त्यका लागि काम गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको बताइएको छ ।

स्थानीय इन्द्रसरा खड्काको अध्यक्षतामा ७ सदस्य राष्ट्रिय छाउपडी महिला सञ्जाल गठन गरिएको हो । जसमा पार्वती भट्ट, सरस्वती भट्ट, मीना चन्द, जानकी बोगटी, अम्बिका भण्डारी, लक्ष्मी विष्ट र वसन्ती भट्ट रहेकी छन् ।

बैतडी जिल्लालगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा अझै पनि महिनावारी भएका बेला अलग्गै बस्नुपर्ने र दूध, दही खान नहुने परम्पराको रूपमा रहेको छ । छाउपडीले घरमा बस्दा देवता रिसाउँछ भन्ने पुरातनवादी सोचले महिलाले विभिन्न किसिमका समस्या सहेर बस्नुपरेको छ । जिल्लामा गठन भएको यो समितिले छाउपडीका बारेमा सचेतना फैलाउने कार्य गर्ने जनाइएको छ ।

सुदूर र मध्य पश्चिममा प्रथाको रूपमा रहेका छाउपडीका कारण बर्सेनि महिलाहरूले अनेक समस्या झेल्दै आएका छन् । महिनावारी भएको बखत एक्लै घरदेखि टाडाको गोठमा बस्दा महिलाहरू बलात्कृत हुनुपर्ने । वन्यजन्तुको आक्रमणमा परेर ज्यान गुमाउने परेका धेरै घटनाहरू छन् । यस्ता सज्जालको चेतनाले महिनावारी भएको बखत गोठमा बस्ने बध्यता हट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया