मासुमा आत्मनिर्भर हुँदै रोल्पा

रोल्पा, १९ मंसिर । कृषिमा परनिर्भरता बढ्दै गएको बेला रोल्पा जिल्लाका किसानले अनुकरणीय प्रयास गरेका छन् । उनीहरुको अथक मेहेनतले रोल्पा जिल्ला मासु उत्पादनमा आत्मनिर्भर भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला पशुसेवा कार्यालयले रोल्पाली किसानले जिल्लाका उपभोक्ताको लागि कुखुरा, खसी र राँगाको मासुमा आत्मनिर्भर बनाउन सफल भएको जनाएको छ ।

जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए । उत्पादित मासुमध्ये जिल्लामा खपत भई बढी भएको छिमेकी जिल्ला प्युठान, दाङ र राजधानीसम्म जाने गरेको छ । खसी तथा राँगाको सुकुटी विदेशमा समेत पठाइने गरेको भए पनि कति परिमाणमा विदेश पठाइन्छ सोको आधिकारिक तथ्यांक कार्यालयमा नभएको सिंहले बताए ।

जिल्लामा व्यावसायिक बाख्रापालक कृषकको संख्या बढ्न थालेको छ । हाल एक सयभन्दा बढी कृषकले व्यावसायिक बाख्रापालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका धेरै युवा कृषि पेशामा व्यावसायिक रुपमा लागेको पाइएको छ ।

हालसम्म जिल्लामा ६१ कुखुरा फार्म तथा विभिन्न स्थानमा २९ मासु पसल सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यसैबीच उत्तरी रोल्पामा व्यावसायिक रुपमा भेँडापालन गरिँदै आएकामा पछिल्ला दिनमा त्यो संख्या भने घट्दै गएको बताइएको छ ।

प्रतिक्रिया